भदौरे र मजुवामा झोलुङ्गेले थपेको खुसी

धुलिखेल (काभ्रेपलाञ्चोक), १४ मङ्सिर : गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुङ्गेपुल निर्माण हुन थालेपछि यहाँका नागरिक उत्साहित बनेका छन् ।

वर्षौँदेखि खोलामा पुल नहँुदा किसानलाई खेतीपाती र बालबालिकालाई विद्यालय आवतजावतका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण सुरुपछि यहाँका बासिन्दामा उत्साह थपिएको छ । सङ्घीय सरकारको ‘झोलुङ्गे पुल कार्यक्रम’अन्तर्गत रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानमा पुल निर्माण अघि बढाइएको हो ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष च्यमा लामा थोकरका अनुसार स्वास्थ्यचौकीमा उपचारका लागि जानसमेत सास्ती खेप्नुपरेका यहाँका नागरिकलाई पुल निर्माणले धेरै आशा जागेको छ । सरस्वती प्राथमिक विद्यालय भदौरेका शिक्षिका निर्मला लामाले बालबालिकालाई सहज हुने बताउनुभयो । “बर्खामा खोला तर्न नसकेर खेतीपाती र गाउँघरमा आपसी सहयोग गर्नसमेत समस्या व्यहोर्दै आएका थियौँ, अब त्यो हट्नेछ ।”
स्थानीय वीरबहादुर लामाका अनुसार सडक सुविधा नहुँदा जिल्लाको विकट डाँडापारि महाभारत गाउँपालिकाको गोकुले र घर्तिछापका नागरिकले सदरमुकाम धुलिखेल आवतजावत गर्ने मुख्य नाका रहेको सो ठाउँ पछिल्लो समय ओझेलमा परेको बताउनुभयो । सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुष्णबहादुर लामाले बर्खाको बेलामा १०–१५ दिनसम्म खोला नघटेर बालबालिका विद्यालय जान नसक्ने अवस्था व्यहोर्दै आएकामा अब यसबाट छुटकारा पाइने विश्वास व्यक्तगर्नुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले त्यहाँका नागरिकको सहजताका लागि सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको साझेदारी र स्थानीय उपभोक्ताको श्रमदानमा आयोजना सञ्चालन भएको बताउनुभयो । सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत स्थानीय तह रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानसहित रु ६९ लाखको लागतमा पुल निर्माण भइरहेको हो ।

तपाईको प्रतिक्रिया