हुम्लामा गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) ३ मङ्सिर : हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख एक सय एघार राशिको पुरस्कार प्राप्त गर्नेछन् । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता मङ्सिर ४ गतेदेखि सञ्चलन हुने हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष विष्णुबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोल्डकप विजेताले रू दुई लाख एक सय ११ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले रू एक लाख एक सय ११ प्राप्त गर्नेछन् । यही मङ्सिर १ गतेदेखि आज साँझ ४ बजेसम्म टिम दर्ताको समय तोकिएको उहाँको भनाइ थियो । अध्यक्ष रावतले भन्नुभयो, “खेल मैदानको केही मर्मत गर्नुपर्ने भएकाले दुई दिन अघि हुने भनिएको खेल स्थगन गरी मङ्सिर ४ गतेदेखि सञ्चालन गर्ने तयारी भएको हो ।” उहाँका अनुसार हालसम्म सात वटा क्लबले प्रतियोगिताका लागि दर्ता गराएका छन् । प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको रावतले बताउनुभयो ।

प्रत्येक प्रतिगोगितामा ‘म्यान अफ द म्याच’को व्यवस्था पनि गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि रू २० लाख लाग्ने अनुमान आयोजकले गरेको छ ।

तपाईको प्रतिक्रिया