नागरिकका घरआँगनमा नगरपालिकाको सेवा

काभ्रेपलाञ्चोक, २५ कात्तिक : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नागरिकको घरमै सेवा उपलब्ध गराउने योजना तयार पारेको छ । यसका लागि नगरले एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व सङ्कलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपाङ्गतालगायत लक्षित वर्ग सम्बन्धमा नगर कार्यालयद्वारा प्रदान गरिने सेवासहित सबै वडामा मङ्सिर मसान्तसम्म एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने जनाइएको छ ।

नगर प्रमुख कुनसाङ लामाले आर्थिक वर्ष २०८०/०८१ को लागि दोस्रो नगरसभाको तेश्रो अधिवेशनबाट स्वीकृत भएको वार्षिक विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता गर्ने तयारी गरिएको बताउनुभयो ।

यस्तै नगरले सुशासन र पारदर्शितामा जोड दिँदै आउँदो मङ्सिर ७ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय गरेको छ । आव २०७९/८० मा र चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा सम्पादन गरिएका कार्यहरूबारे सार्वजनिक सुनुवाइ हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया