भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने

काठमाडौँ, १९ कात्तिक : नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया