दृष्टिविहीन बन्दै गइरहेको समाज

कसैले प्रतिष्ठा आर्जन गरेको छ भन्दैमा कसैको आमा, छोरी, दिदीबहीनी, भाउजु, फूपु, माइजु, अपराधको सिकार भईदिनुपर्ने हो ? यो समाज तिनै पीडकहरूको पक्षमा बोलिदिनुपर्ने हो ?

अम्विका वस्ती । पछिल्लो समय चर्चामा रहेको एउटा घटनाबाट विषयको उठान गरौं । नाबालिका बलत्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुष २८ मा उच्च अदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दियो । उच्चको आदेश अनुसार लामिछाने पुस २९ धरौटीमा रिहा भए । उपलब्ध प्रमाणको विश्लेषण गरी काठमाडौं जिल्ला अदालतले कार्तिक १८ गते लामिछाने माथि थप अनुसन्धान गर्न थुनामा पठाएको थियो । अहिले लामिछानेलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गरेर बन्द प्रशिक्षणमा सहभागी गराएको छ । जबकी महान्याधिवक्ताको कार्यालय उच्च अदालतको आदेश बेरितको भएको भन्दै सर्वोच्च पुगिसकेको छ । यता जिल्ला अदालतबाट सन्दीपको मुद्दामा आवश्यक कानुनी प्रक्रिया पूरा फैसला गर्ने काम पनि बाँकी नै छ । अहिले सामाजिक सञ्जालमा छरप्रष्ट देखिएका क्रिया/प्रतिक्रिया हेर्दा यस्तो लाग्छ कि, पीडितको पक्षमा आवाज उठाउनु गल्ती हो र सन्दीपको पक्षमा बोल्नु वाहवाही कमाउनु हो ।

तटस्थ लेखिएका समाचारमा पनि गाली गलौजको ओइरो छ । यो विषयलाई गम्भीर भएर मनन् गर्ने हो भने समाज कसरी दृष्टिविहीन बन्र्दै गइरहेको छ भने प्रष्ट हुन्छ । कानून सबैको लागि बराबर हो । पीडित नाबालिकाले म पीडित भए मलाई न्याय देऊ भनेर हारागुहार गर्नुपर्ने अवस्था यो समाजले सृजना गर्दैछ भने आरोपितलाई सम्मान गरिरहेको छ ।

हो सन्दीप लामिछाने देश विदेशमा ख्याति कमाएका व्यक्ति हुन् । तर यसो भन्दैमा कानुन त उनका लागि पनि बराबर हो । कसैले प्रतिष्ठा आर्जन गरेको छ भन्दैमा कसैको आमा, छोरी, दिदीबहीनी, भाउजु, फूपु, माइजु, अपराधको सिकार भईदिनुपर्ने हो ? यो समाज तिनै पीडकहरूको पक्षमा बोलिदिनुपर्ने हो ? अनि पीडितको आवाज दबाएर आरोपितको कुरा सुनिदिनुपर्ने हो ? हामीले आफ्नो घरका आमा, छोरी, दिदीबहीनी, फूपू, माइजु, भाउजुलाई एक पटक पीडितको ठाउँमा उभ्याएर हेरौै त हामीलाई कस्तो लाग्छ ? सन्दीप धरौटीमा रिहा हुनु र लगत्तै क्यानले पनि उनलाई प्रशिक्षणमा सहभागी गराउनु आफैमा शंसयपूर्ण छ । यसको उचित निरूपण न्यायालयबाटै होला । तर जसरी हामी कोही व्यक्तिको लागि नराम्रोलाई राम्रो, धमिलोलाई सङ्लो, असान्दर्भिक कुरालाई पनि सान्दर्भिक बनाउने कोसिस गरिरहेका छौं यसले समाजलाई कता लैजादै छ ? यो आफैमा प्रश्नको विषय छ ।

हो व्यक्तिको समर्थन गर्न सकिन्छ, उसको फ्यान, फलोर्अस् हुन सकिन्छ तर सबैलाई समान रूपले लागू हुने कानूनमा फरक दृष्टि राख्ने हो भन्ने यसले समाजलाई उल्टो दिशामा लैजान्छ । अर्को प्रसंगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सन्दर्भलाई लिऔं । अहिले सामाजिक सञ्जालमा रवि लामिछानेका पक्ष/विपक्षमा अनेकन टिका टिप्पणी भइरहेका छन् । कानून र यर्थातको वास्तविक धरातलमा उभिएर हेर्ने हो भने नेपाली नागरिक रहेका रवि लामिछानेले नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिक बनेको यर्थात हो । र यसैबीचमा अमेरिकाको नागरिकता परित्याग गरेको पनि उपलब्ध तथ्यले उजागर नै गरिसकेको छ । विदेशको नागरिकता त्याग गरेपछि पुनः नेपाली नागरिकता पुन प्राप्तीको लिखित कानून सबैका लागि समान हो ।

चाहे रवि लामिछानेको हकमा होस् या चाहे अन्य कुनै व्यक्तिको हकमा । नागरिकता विवाद तन्किदै जादा रवि लामिछानेको हकमा पनि सर्वोच्च अदालतले यो नजिर स्थापित गरिसकेको छ । विदेशी नागरिकको रूपमा नेपाल प्रवेश गरी नेपालको राहदानी लिनु पनि कानुन सम्मत नभएको विषय पनि अहिले चर्चामा छ । यस्ता तमाम विषय छन्, जसमा कानुन सबैका लागि बराबर हो । अझ उदेक लाग्दो त के छ भने ५ लाख भन्दा बढि नागरिक त कानून अभावमै नागरिकताविहीन बनेर बसेका छन् । पछिल्ला दिनमा सन्दीप लामिछाने होस् या रवि लामिछाने वा अन्य कतिपय सवालमा गलत नै भएपनि पक्षमा बोले ठीक र विपक्षमा बोले गाली गलौज गर्ने संस्कार बनेको छ ।

आफूले सद्भाव  राखेका व्यक्ति परे कानुन गलत हुने र अन्य कोही व्यक्ति परे ठिक्क पर्यो भने मान्यताको आत्मसाथ गर्नु हानिकारक छ । यहाँ को व्यक्ति सहि छ र ? कुन नेताले के पो गरेको छ र ? राम्रो काम गर्न खोजेको थियो रोकिहाले भन्नुभन्दा, कानूनको पालना सबैका लागि सम्मान हो, जुनसुकै पदीय हैसियतको होस्, कानुन समान रूपले लागु हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्न सके धेरै हदसम्म मुलुकमा उचित प्रणालीको विकास हुन सक्छ ।

व्यक्तिलाई व्यक्तिकै हैसियतबाट नहेरी कहिले कानुन भन्दा माथि सोच्ने, कहिले देवत्वकरण गर्ने त कहिले दानबीकरण गर्ने प्रवृत्तिले हामीलाई अन्धो बनाउँदै लगिरहेको छ ।

लेखक अधिवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया