एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेले जनतासामू गएर भोट माग्ने नैतिक आधार गुमाएको बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले एमालले संविधान च्यात्ने र संसद विघटन गर्ने काम गरेकाले उसलाई भोट माग्ने नैतिक आधार नभएको बताएका हुन् ।
प्रतिनिधिसभा चुनावमा गोरखा– २ बाट माओवादी उम्मेदवारसमेत रहेका दाहालले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संविधानको रक्षा गर्ने र च्यात्नेबीचको महासग्राम रहेको बताए । दाहालले भने ‘ एमाले नेतृत्वको गठबन्धन पश्चगामी शक्ति हो, जो संविधानलाई फालेर मुलुकलाई पछाडी धकेल्न चाहन्छ’ ।