मुहार फेर्दै ललितपुर गोदावरी नगरपालिका– ३, यसरी हुँदैछ हराभरा !

ललितपुर ।  कहिले सडकका खाल्डाखुल्डी पुर्न कामदारजस्तै बनेर खटिन्छन् । कहिले बुढाबुढीलाई भत्ता पु¥याउन घरघर पुग्छन् त कहिले विरामी बोकेर अस्पताल । जोकोहीको समस्यामा तुरन्तै सामेल भइहाल्छन् उनी । ललितपुर गोदावरी–३ का वडाध्यक्ष राज घिमिरेलाई वडाध्यक्ष बनेयता कतिखेरै फुर्सद छैन ।
त्यसो त उनी वडाध्यक्ष बन्नुअघि पनि सक्रिय रुपमा समाजसेवामै थिए । उनको परिचय त्यतिमै सिमित छैन, उनी नेपाली चलचित्रका सफल नायक पनि हुन् । एउटा हिरो, समाजसेवी हुँदै वडाध्यक्ष बनेका राज घिमिरेको दैनिक अत्यन्तै व्यस्त बनेको छ । उनी आफ्नो वडालाई नमूनाको रुपमा चिनाउन कस्सिएका छन् । विहान सवेरैदेखि बेलुकी अवेरसम्म उनी वडावासीको सेवामा डटेर लागिपर्छन् । वडावासीलाई सकेसम्म घरघरमै पुगेर सेवा दिन्छन् ।
प्रायः वडाध्यक्षहरु वडा कार्यालय भित्रै बसेर मात्रै जनताका काम गर्ने भन्ने बुझ्छन् । तर वडाध्यक्ष घिमिरे जनताका कागजी काम भन्दा पनि विकास निर्माण, पर्यटन विकास, उद्यमशीलता, स्वास्थ्य र सुधारमा सुधार ल्याउन अहोरात्र खटिने गरेका छन् । राजधानी नजिकै भएपनि गो.नपा वडा नम्बर ३ विकास तथा पूर्वाधारले पछि परेकोले त्यसको विकासको लागि आफू दौडिरहेको वडाध्यक्ष घिमिरे बताउँछन् । ‘जनताको काम गर्न र विकास निर्माणका काम गर्न म यो ठाउँमा आएको हुँ,’ उनले सुनाए, ‘म बाचुन्जेल यस क्षेत्र र यहाँका स्थानीयको सेवामै समर्पित हुन्छु ।’
उनको प्रशानिक काम पनि चुस्त छ । उनी दैनिक वडा कार्यालय जान्छन् । वडा कार्यालयमा आएका आगन्तुकका समस्या सुन्छन् । प्रशानिक र सेवाग्राहीका काम सकाएपछि उनी वडाभित्र केके समस्या छन् खोतल्दै हिड्छन् । स्थानीयलाई सामेल गराएर उनले ती समस्या समाधान गर्छन् । कहिले बाटो मर्मत गर्न खटिन्छन् । कहिले विजुलीका पोल मर्मत गर्नतिर लाग्छन् । आफै खटिएर हुन्छ वा आदेश दिएर हुन्छ वडाका समस्याको उनी तुरुन्त समाधान खोज्छन् । पछिल्लो समय भित्री सडक र गोरेटो बाटाहरु व्यवस्थित पार्नेतर्फ पनि उनले ध्यान दिएका छन् ।
वडा नम्बर ३ पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । गोदावरी क्षेत्र यही वडामै पर्छ । सन्तानेश्वर मन्दिर र अन्य पर्यटकीय डाँडाकाँडाहरु यहाँ थुप्रै छन् । ती ठाउँहरुलाई पर्यटकीय स्थानको रुपमा चिनाउन लागिपरेको वडाध्यक्ष घिमिरे बताए । ‘यो वडा हरेक हिसाबमा सम्भावना भएको वडा हो, यहाँ कृषि पनि राम्रै हुन्छ, पर्यटकीय रुपमा पनि राम्रो मानिन्छ,’ उनले भने, ‘मेरो कार्यकालमा यो ठाउँलाई हिरा बनाउँछु ।’
आफूले कुर्चीमा भन्दा पनि स्थानीयको घरघरमा पुगेर उनीहका समस्या अनुसार बजेटका कार्यक्रम तय गरेकोले त्यसले यस क्षेत्रका मानिसको दैनिक जीवनमा पनि सुधार ल्याउने वडाध्यक्ष घिमिरेको भनाई छ ।
छोटो समयमा भएका केहि उदाहरणीय कामहरु
वडा ३ टौखेलमा यात्रुहरुलाई मध्य नजर गर्दै आकर्षक अनि आधुनिक प्रतीक्षालय बनाउन पनि सुरु गरिएको छ । एभरेस्ट बैंकसंगको सहकार्यमा प्रतिक्षालय बनाउन लागिएको हो ।
वडा कार्यालयलाई व्यवस्थित र सेवामुखी बनाइएको छ । सबैतिरका सडकवत्ती मर्मत भएका छन् । वडा तीनमै पर्ने भित्री सडकहरु व्यवस्थित पारिएको छ । केहि मर्मतको चरणमा छन् । अवैध प्लटिङ रोकिएको छ । गोदावरी क्षेत्रको मुख्य सडकलाई सुरक्षित बनाइएको छ । बसर्पाकमा फोहोर फाल्न कडाई गरिएको छ ।
त्यस्तै वडाको मार्वल डाँडालाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनको लागि योजना बनाइएको छ । गोदावरी बसर्पाक क्षेत्रमा खुल्ला जिम सेन्टर राखिएको छ । सँगसँगै त्यहाँ बगैंचा , बेन्चहरु , दुबो , फ्री वाइफाइ , टिटि बोर्ड बनाउने उद्देश्य रहेको वडाध्यक्ष घिमिरेको भनाई छ ।
सामाजिक सञ्जालमा सक्रिय
वडाध्यक्ष घिमिरेको फेसबुक मात्रै पछ्याउने हो भने उनी कति काममा सक्रिय छन् भन्ने थाहा हुन्छ । उनले आफूले गरेका हरेक काम फेसबुक पोष्ट गर्छन् । अधिकांशले सामाजिक सञ्जाल प्रयोग गर्ने भएकोले उनीहरुलाई वडाका सूचना, जानकारी र गतिविधिहरु थाहा दिन सामाजिक सञ्जालमा वडाका गतिविधिहरु राखिएको वडाध्यक्ष घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया