श्रममन्त्री श्रेष्ठसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट, इपीएस सम्झौता छिट्टै नवीकरण हुने

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुक बीच मंगलबार शिष्टाचार भेट  भएको  छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको हो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नविकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणाली सम्वन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पुर्याउन राजदूत पार्कसँग आग्रह गरेका छन् । राजदूत पार्कले ईपीएस सम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए। सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणाली सम्वन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नविकरण भएको र तत्पश्चाच २०२० देखि नविकरणको प्रकृयामा रहेको छ ।

मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रकृयामा रहेकोले उनिहरुलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका छन् । रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उहाँले आग्रह गर्नुभयो । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन् । ईपीएस अन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताए ।

सन् २०१८ मा ईपीएस अन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार जना नेपाली रोष्टरमा रहने म्याद सकिएकोले प्रकृयामा सहभागि हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रकृयामा सहभागि गराउन आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए ।

रोजगार अनुमति प्रणाली अन्तर्गत नेपाली नागरिक ठुलो संख्यामा दक्षिण कोरिया जाने गरेकोले नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमलाई पनि कोरियामा सुचिकृत गर्न,  कोभिड महामारीका कारण सिधा उडान मात्र हुने गरेकोले ट्रान्जिट हुँदै समेत जाने व्यवस्था गर्न पनि उनले आग्रह गर्नुभयो । जसबाट  हवाइ भाडा सस्तो पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । नेपाल वायु सेवा निगमले पनि काठमाडौं-कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।

दक्षिण कोरिया सरकारको सहयोगमा वुटललमा संचालित सीप तालिम केन्द्रबाट धेरै नेपाली युवाहरु लाभान्वित भएको बताउंदै मन्त्री श्रेष्ठले अन्य प्रदेशमा पनि सीप विकास तालिम संचालन गर्ने मन्त्रालयको योजनामा सहयोग गर्न आग्रह गरेका छन । रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुन:एकीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए। पुन:एकीकरणका लागि दक्षिण कोरिया सरकारले ८० लाख डलर सहयोगको प्रस्ताव गरेको छ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । नेपालीहरु मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया