रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै प्रदर्शन

काठमाडौँ-रुसले युक्रेनमाथि गरेको  युद्ध  तत्काल रोक्न आग्रह गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

युद्ध र आणविक अस्त्र विरुद्ध  मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाण्डौ स्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ ।
२९ मार्च २०२२ सम्पन्न प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ निहत्था मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै तत्काल युक्रेनबाट सैनिक फिर्ता गरि युद्ध रोक्न आह्वान गरेका थिए ।

एकातिर रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक रुपमा विस्थापित भएको र युद्धकै कारण मानव अधिकार उल्लंघनको डरलाग्दो सिलसिला शुरु भएको, अर्कोतिर युद्ध लम्बिदै जाँदा परमाणु अस्त्र प्रयोग हुने त होइन? कतै विश्व युद्ध शुरु हुने त होइन ? मानव सभ्यता नै समाप्त हुने त होइन? भन्ने त्रासदीप्रति शान्ति वादीहरुले गम्भीर चिन्ता व्यक्त गरेका थिए । प्रदर्शन पश्चात रुसी राष्ट्रपति भ्लादीमिर पुटीनलाई युद्ध तत्काल रोक्न आग्रह गर्दै शान्ति समाजका तर्फबाट लेखिएको पत्र काठमाण्डौ स्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।

समाजले युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत रुसलाई युद्ध रोक्न आह्वान गर्दै नेपालमा दुई दर्जन बढी प्रदर्शन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया