‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर: बिबेकशील साझा

काठमाडौँ-विवेकशील साझा पार्टीले ‘न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग’ गठन गर्न माग गरेको छ।

शुक्रबार प्रवक्ता शरदराज पाठकद्वारा जारी बिज्ञप्तिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

न्यायालयको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न मुख्य भूमिका खेल्नुपर्ने प्रधानन्यायाधीश स्वयम् नै न्यायिक विचलनको मूल स्रोत बन्नु र कार्यपालिकासमेतमा हिस्सेदारी खोज्नु विधिको शासनबाट संचालित मुलुकमा कल्पना बाहिरको विषय भएको कुरा उल्लेख गरेको  छ ।

‘संवैधानिक परिषद् र न्याय परिषद्को संरचना पुनरावलोकन, न्याय न्यायपालिकालाई हालको अवस्थासम्म ल्याई पुऱ्याउन भूमिका खेल्नेहरूमाथि कसुर अनुसारको दण्ड सजाय देखि आवश्यकता अनुसार न्यायाधीश पुनर्नियुक्तिसम्मको सिफारिस उक्त आयोगको कार्यादेशमा पार्नु जरुरी छ। न्यायपालिकाले स्वीकार गरिसकेको न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदन कार्यान्वयनले तत्कालको सङ्कटको निकासको बाटो खुला गर्ने हाम्रो विश्वास छ।’ बिज्ञप्तिमा भनिएको छ ।

‘आम रूपमा विवादै विवादको घेरामा परेका र आफ्ना सबै सहकर्मी न्यायाधीशको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीश राणाले न्यायालयको साख थप गिर्न नदिन पदबाट राजीनामा गर्नु नै उचित हुने विवेकशील साझा पार्टीको ठहर छ ‘

 

तपाईको प्रतिक्रिया