काठमाडौं । राष्ट्र बैंकको गर्भनर पदमा योग्य हुन आवश्यक शैक्षिक योग्यता नभएको आरोप लाग्दै आएका महाप्रसाद अधिकारकिो शैक्षिक योग्यता राष्ट्र बैंकले लुकाएको छ । गत भदौं ४ गते गर्भनर हुनको लागि आवश्यक योग्यता र उनलाई नियुक्त गरिएको निर्णयको प्रतिलिपि उपलब्ध गराउन सूचनाको हक प्रयोग गरेर निवेदन दिइएको भएपनि राष्ट्र बैंकले सूचना दिन इन्कार गरेको हो ।
राष्ट्र बैंक ऐन २०५८ को दफा २० ग अनुसार राष्ट्र बैकको गर्भनर हुनको लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याड्ढशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्दछ । तर गर्भनर अधिकारीले कुनै खास विषयमा स्नातकोत्तर गरेको तथ्य बाहिर आउन सकेको छैन । गर्भनरको योग्यता सम्बन्धी सूचना माग गरिएको निवेदनमा राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले सूचना नदिने भन्दै निवदेकलाई धम्काएका हुन् ।





