काठमाडौँ, ९ असोज । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले २०७२ सालमा जारी भएको संविधानको खारेजीसँगै सैवैधानिक राजसंस्था कायम गर्न यही असोज ११ गते काठमाडौं बृहत्त विरोध सभाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त सभामा सहभागी हुन पनि मोर्चाले आम नागरिकलाई आह्वान गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर मोर्चाले उक्त विरोधसभामा हुनको लागि आह्वान गरेको छ । ०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन गरिरहेको र संविधान विदेशीको ईशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरि संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ । संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्याइसकेको पनि मोर्चाको गम्भीर आरोप छ ।
संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठम्याई छ । त्यस्तै, एमसीसी परियोजना राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई पनि कार्यान्वयनमा ल्याउन नहुनेबारे मोर्चाले सचेत गराएको छ ।
जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले ०६२/६३ को आन्दोलन र संविधानसभा आफूले हेरेको सुनाए । राजाले आफ्नो गद्दी छाडेर जनताको संविधानलाई स्वागत गरेको स्मरण गराए । तर, विदेशीले ल्याइदिएको संविधान नेपाली जनताको लागि घाँडो भएको स्पष्ट पारे । उनले भने, संविधानलाई उत्कृष्ट संविधान घोषित गरियो । तर, के यो नेपाली जनताको लागि बनेको हो त ? जनताका लागि के छ र संविधानमा यसलाई कहिले कार्यान्वयन गर्ने ?’
नेपाल स्वच्छ नभएको र राष्ट्रपति पनि पार्टीकै व्यक्ति हुनु देशको लागि दुःखद् अवस्था रहेको उनको भनाई छ । उनले भने,‘श्रीपेचको सुरक्षा गर्न नसक्ने सरकारले जनताको सुरक्षा कसरी गर्छ ? राज्यले कुमारीलाई सुरक्षा दिनसकेको छैन् । राजा नआइ देश जोगिन्न । बेलायतमा समेत यस्तो अवस्था आएको थियो ।’
आफूहरुले अघि सारेका एजेन्डालाई जनतासमक्ष पुर्याइदिन पत्रकारसमक्ष आग्रह गरे । गणतन्त्रले समेत नेपाली जनतालाई सुख प्रदान गर्न नसकेको उनको भनाई छ । अहिलेको सरकार बनेको ७२ दिन बितिसक्दापनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको विस्तार गर्न नसकेको उनले आरोप लगाए । राजा र दल दुवैले मिलेर देश चलाउनुपर्ने उनको धारणा थियो ।