अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुसल नेपाल फर्काउन आग्रह

काठमाडौँ- मानवअधिकार तथा शान्ति समाजले अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुसल नेपाल फर्काउन प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।
समाजले शुक्रबार  गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।
गृह मन्त्रालय सिंहदरबारमा भएको छलफलमा अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुसल नेपाल फिर्तिका लागि आवश्यकता अनुसार अन्य मुलुकहरुसँग समेत समन्वय र सहकार्य गरि प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो । यसैगरी कोभिड १९ को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ । प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरु शिघ्र अनुमोदन गर्न पनि आग्रह गरेको छ ।

माननीय मन्त्री बालकृष्ण खाँणज्यू,
गृहमन्त्रालय, सिंहदरबार काठमाण्डौ नेपाल
विषय: ध्यानाकर्षण ।
माननीय मन्त्रीज्यू,
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशिल स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा लगायतका क्षेत्रमा अघि सारेको निम्न सुझावहरु अबलम्वन÷कार्यान्वयन गर्नका लागि सादर आग्रहसहित ध्यानाकर्षण गराउँदछु ।
१. कोभिड १९ को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्नुपर्दछ । साथै भविष्यमा यस्तै प्रकारका महामारीको सामना गर्न विगतका घटनाबाट पाठ सिक्दै सोही अनुरुपको नीति संयन्त्र बनाउनुपर्छ ।
२. अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुसल नेपाल फिर्तिका लागि आवश्यकता अनुसार अन्य मुलुकहरुसँग समेत समन्वय र सहकार्य गरि प्रभावकारी कदम चाल्न मानव अधिकार तथा शान्ति समाज गम्भीर ध्यानाकर्षण गराउँछ ।  
३. आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि २०२१ जनवरी २२ बाट लागू भइसकेको छ । ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन नगरेको हुँदा शिघ्र अनुमोदन गर्न मानव अधिकार तथा शान्ति समाज नेपाल सरकारलाई आग्रह गर्दछ ।
४. प्राकृतिक एवम् अन्य विपत्तिको सामना तथा व्यवस्थापन गर्न उद्धार, राहत र पुनर्वासका लागि पर्याप्त जनशक्तिसहितको बलियो एवम् प्रभावकारी स्थायी संयन्त्र निर्माण गर्न मानव अधिकार तथा शान्ति समाजले बारम्बार आग्रह एवम् ध्यानाकर्षण गराउँदै आइरहेको छ । मानव अधिकार तथा शान्ति समाज शिघ्र त्यस्तो स्थायी संयन्त्र निर्माण गर्न आग्रह गर्दछ ।
५. लागू औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि मानव अधिकार तथा शान्ति समाज निरन्तर अभियानरत छ । लागू औषध÷मदिरा दुव्र्यसनको रोकथामका लागि शान्ति समाजले राज्य, सरकार र नागरिक समाजको सहकार्यमा जोड दिँदै आएको छ भने युवा पुस्तालाई लागू औषधको दुव्र्यसनबाट बचाउनका लागि व्यापक सामूहिक पहल र अभियान सञ्चालन गर्नुपर्नेतर्फ पुन ध्यानाकर्षण गराउँदै लागू औषध दुव्र्यसन विरुद्ध राष्ट्रिय अभियान घोषणा÷सञ्चालन गर्न शान्ति समाज पुनः हार्दिक आग्रह गर्दछ ।
६. सन् १९९७ मा जारी भएको मानवविरुद्ध लक्षित बारुदी सुरुङको प्रयोग, भण्डारण, उत्पादन तथा ओसारपसार माथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धि (ओटावा महासन्धि– विश्वका १६४ राष्ट्रद्वारा अनुमोदीत ) लाई नेपालले तत्काल अनुमोदन गर्नुपर्दछ ।
७. मानवता विरुद्धको अपराधलाई रोक्ने उद्देश्यले जारी भएको अन्तराष्ट्रिय फौजदारी अदालतको विधान (रोम विधान) लाई नेपालले तत्काल अनुमोदन गर्नुपर्दछ ।
८. लोकतन्त्रको मेरुदण्ड नै विधिको शासन भएकोतर्फ ध्यानाकर्षण गराउँदै सुशासनको प्रत्याभुतिका लागि सरकारले ठोस राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नुपर्दछ ।
९. जलवायु परिवर्तन विश्वव्यापी उष्णता र हिमालय संरक्षणका विषयमा नेपाल सरकारले अन्तराष्ट्रिय मञ्चहरुमा प्रभावकारी भुमिका निर्वाह गर्नुपर्दछ । यसैगरी हिमालय बचाउ नदी जोगाउ अभियान राज्यको उच्च प्राथमिकता हुनुपर्छ ।  
१०. चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेको छ । तसर्थ चुरे संरक्षण विशेष प्राथमिकता हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया