नेपालमा अझै पनि क्यान्सर रोग बारे चेतनाको अभाव छ । अहिले पनि मानिसहरू आफूलाई क्यान्सर रोग भएपछि खुलेर बाहिर आउन सकेका छैनन् । समयमै क्यान्सर रोगको पहिचान भए क्यान्सर रोगबाट शत प्रतिशत छूटकरा पनि पाउन सकिन्छ । तर क्यान्सर रोग लागेपछि खुलेर बाहिर नआउने, लुकाएर बस्ने र समयमै उपचारमा नगर्ने समस्या विद्यमान छन् । जटिलता बढ्दै गएपछि वा अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल जाने परिपाटीले जोखिम झन् बढाउदै लगेको पाइन्छ ।
अझ महिलाको हकमा स्तन क्यान्सर अति संवेदनशील छ । अहिले अवस्थाको कुरा गर्ने हो धेरै महिलाहरूले चेतनाको अभावमा स्तन फाल्ने एउटा समस्या छ भने अर्कोतिर क्यान्सर रोग निको भएपछि फेरी स्तन नभएको कारणले डिप्रेसनमा जाने समस्या पनि उतिकै छ ।
खासमा स्तन क्यान्सर भएका ८० प्रतिशत विरामीको उपचार स्तन नै नफाली नेपालमै सम्भव छ । तर विडम्वना अहिले स्तन क्यान्सर भएपछि ८० प्रतिशतले स्तन फाल्ने गरेको र २० प्रतिशतको मात्र नफाली उपचार हुने गरेको तितो यथार्त हामीसँग छ । यथार्त भन्दा भ्रम र बलियो आत्मबल भन्दा डिप्रेसन जस्ता कारणले सामान्य भइकन पनि क्यान्सरको पीडाबाट गुज्रिने संख्या कम छैन । स्तन क्यान्सरको सन्दर्भमा क्यान्सर रोगका विशेषज्ञ डाक्टर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष सुदीप श्रेष्ठसँग नेपाल परिक्रमा डट कमले गरेको कुराकानी :
– क्यान्सर रोग के हो ?
खनपान, खराब जीवनशैली र वाह्य वातावरणीय प्रतिकुलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित भई देखिने रोग नै क्यान्सर हो । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको हुन्छ । केही हदसम्म क्यान्सर रोग बंशानुगत पनि हुन सक्छ । जाँड, रक्सी, चुरोट तथा बासी सडगलेका खानाले पनि क्यान्सर रोग निम्ताउँन सक्छ ।
– क्यान्सर रोग भएको कसरी थाहा पाउने ?
सुरूवातको समयमा क्यान्सर रोगको लक्ष्यण व्यक्तिले थाहा नपाउन पनि सक्छ । जतिबेला क्यान्सर रोग हो भन्ने थाहा हुन्छ, त्यो बेला धेरै ढिला भएको पनि हुन सक्छ । त्यसैले क्यान्सर रोगको लक्ष्यण समयमै थाहा पाउन्ुपर्दछ । अचानक तौल घट्नु, दिशा पिशाबमा रगत देखिनु, शरिरिका विभिन्न भागमा गिर्खा देखिनु, बढि थकान महशुस ह्ुनु, ज्वरो आउनु, रत्तश्राव, पिशाबमा समस्या लगायतका लक्ष्यणहरू क्यान्सर रोगमा देखिन सक्छन् ।
– अब मूल विषय प्रवेश गरौ, स्तन क्यान्सर के हो ?
स्तन क्यान्सर महिलामा हुने जटिल प्रकारको रोग हो । नेपालको सन्दर्भमा महिलामा पाठेघरको मुखको क्यान्सर पछि सबैभन्दा बढी हुने स्तन क्यान्सर नै हो । स्तन क्यान्सर अरूलाई सर्दैन । स्तनमा देखिने परिवर्तनलाई सजिलै पहिचान गर्न सकिन्छ । स्तनमा अनावश्यक कोषहरू बढ्दै गए, गाँठा वा गिर्खा देखा परे भने त्यो स्नत क्यान्सरको लक्ष्यण हुन सक्छ । तर सबै गाँठा वा गिर्खा क्यान्सर भने हुदैनन् ।
– नेपालमा स्नत क्यान्सर बारेको विद्यमान अवस्था कस्तो छ ? स्तन क्यान्सर उपचार कसरी हुने गरेको छ ?
निकै महत्वपूर्ण प्रश्न सोध्नुभयो, अहिले नेपालमा स्तन क्यान्सर बारे चेतनाको अभाव छ । मेरो अनुभवमा महिलामा स्तन क्यान्सर बढि देखिने गरेको छ । स्तन क्यान्सर हुने वित्तिकै खुलेर आउन डराउने, रोग ल्ुकाउने र अन्तिम अवस्थामा मात्र उपचारका लागि आउने गरेको देखिन्छ । प्रारम्भिक अवस्थामै स्तन क्यान्सर पहिचान भयो भने यसलाई निको पार्न सकिन्छ । अझ नेपालमा डरलाग्दो अवस्था के छ भने निको पार्न सकिने स्तन क्यान्सरमा पनि स्तन फाल्नै समस्या विकराल छ । खासमा ८० प्रतिशत स्तन क्यान्सरको नफाली नै उपचार गर्न सकिन्छ । अन्तिम अवस्थामा पुगेको वा जटिल प्रकृतिका २० प्रतिशतको मात्र स्तन फाल्नुपर्ने हुन्छ । विकसित देशमा यही हुँदै आएको छ । तर हामीकहाँ यसको ठीक उल्टो छ । स्तन क्यान्सर हुने वित्तकै काटेर फालिहाल्ने भन्ने मानसकिता छ, जुन आफैमा गलत छ । ल ठीक छ, स्तन त काटेर फालियो १ दुई बर्षमै क्यान्सर रोग निको हुन्छ । निको भएपछि महिला आफ्नो स्तन नभएकाले डिप्रेशन र मानसिक तनाबको सिकार हुने गरेका छन् । अहिलेको तितो यथार्त नै यही हो । त्यसैले हामीले के चेतना फैलाउन जरूरी छ भने स्तन क्यान्सर हुने वित्तिकै स्तन फाल्नु पर्दैन, उपचार सम्भव छ । स्तनमा कुनै किसिमका गाँठा वा गिर्खाहरू भेटियो भने चिकित्सकसँग परामर्श गरी यसको निदान गर्नु उचित हुन्छ ।
– स्तन क्यान्सर बारे कसरी जनचेतना फैलाउन सकिएला ?
जनचेतना फैलाउनकै लागि हामीले नियमित रूपमा निको भएका विरामीसँग छलफल गराउँदै त्यसमा सरोकारवालालाई समट्दै आएका छौ । यसले केही हदसम्म हिजोका दिन भन्दा आज चेतना फैलिएको मैले महशुस गरेको छु । स्तन क्यान्सर सम्बन्धी विषयलाई अभियानकै रूपमा अगाढि बढाउनुपर्ने आवश्यकता मैले देख्छु ।
– स्तन क्यान्सरबाट बच्न के गर्नुपर्ला ?
यसबाट बच्ने मुख्य उपाय भनको समय–सययमा परिक्षण गर्ने नै हो । अहिले के देखिन्छ भने रोग लागि सकेपछि मात्र परिक्षण गर्ने प्रचलन छ, पहिला यसको अन्त्य हुन जरूरी छ । रोग लाग्नु भन्दा अघि परिक्षण गर्यो भने सबैभन्दा उत्तम हुन्छ । २५÷३० बर्षकै उमेरदेखि लक्ष्यण भएपनि नभएपनि बेला–बेला परिक्षण गर्यो भने जोखिम बाट बच्न सकिन्छ ।
डाक्टर श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका विशेषज्ञ डाक्टर हुुनुहुन्छ ।