कोरोनाको दोस्रो लहरको प्रभाव अहिले पनि कायमै छ । बैशाख मध्यतिर शुरू भएको दोस्रो लहरको जोखिम बैशाख अन्तिम साता र जेठको तीन साता सबैभन्दा उच्च विन्दुमा रह्यो । यो बेला सरकारी देखि निजी अस्पतालतहरू कोरोना संक्रमितले भरि भराऊ मात्र भएनन्, आइसियू बेड,
भेण्टिलेटर र अक्सिजनको चरम अभाव हुँदा सयौं नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्यो । अहिले कोरोना संक्रमण र यसबाट मुत्यु हुनेको संख्या विस्तारै ओरालो लाग्दै छ । यद्यपी कोरोना जोखिम भने उस्तै छ । पछिल्ला दिनमा अस्पतालहरूमा कोरोना संक्रमित विरामीको चाप विस्तारै घट्दै गएको पनि छ । अस्पातलमा आइसियू बेड र भेण्टिलेटर पाउन सहज बन्दै गएको छ । कोरोना संक्रमण उच्च विन्दुमा पुग्दा निजी अस्पातहरूले दिनरात नभनी काम गरी विरामी उपचार गरे । विभिन्न अभावहरू झल्दै धेरै भन्दा धेरै विरामीलाई बचाउने प्रयास निजी अस्पातलबाट पनि भयो । महामारीको समयमा निजी अस्पतालहरूले के कसरी काम गरे ? अवस्था कस्तो थियो ? अहिलेको अवस्था के छ र भविष्यमा तयारी के छ भन्ने विषयमा हामीले काठमाडौंको ग्रीन सिटी हस्पिटलकी सञ्चालक सदस्य रेनुका गुरूङसँग कुरा गरेका छौ । उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश ।
–अहिलेको अवस्था कस्तो छ ?
अहिले हस्पिटलमा विस्तारै विरामीको चाप घट्दै गएको छ । विगतमा दैनिक ५० देखि ६० को हाराहारीमा कोरोना संक्रमित विरामी उपचारका लागि आउने गर्थे । अहिले त्यो संख्या घटेर ८÷१० मा सिमित भएको छ । विरामीको उपचारमा यसअघि निकै चाप थियो । विरामीलाई भर्ना नै लिन नसकेर फर्काउनुपर्ने अवस्था थियो । अहिले विस्तारै त्यस्तो अवस्था कम हुदै गएको छ ।
– कोरोना महामारी उच्च विन्दूमा पुगेका बेला हस्पिटलले कसरी काम गर्यो ?
पहिलो कुरा त, हामीले मानव सेवा नै पहिलो हो भन्ने मानसिकता राखेर काम गर्यौ । पैसा भएर होस् नभएर होस् हाम्रो हस्पिटल आउने कुनैपनि विरामीलाई हामीले भेदभाव गरेनौ । सक्नेले डिपोजिट पनि राखे नसक्ने विरामीलाई हामीले बाध्य पारेनौ । हाम्रो हस्पिटलको क्षमताले भ्याएसम्म सबै विरामीको उपचार ग¥यौ । धेरै भन्दा धेरै विरामी बचाउने नै हाम्रो मूल ध्ये थियो । यसका लागि हामी हस्पिटल सञ्चालकदेखि डाक्टर, नर्स लगायतका सबै दिनरात नभनी खटियौ ।
–यो बीचमा के कस्ता समस्या भोग्नुपर्यो ?
हस्पिटल सञ्चालमा आएदेखि हालसम्मको अवधिमा सायद यति ठूलो अभाव कहिले भोगिएको थिएन । हुन त कोरोना महामारी विश्वब्यापी समस्या हो । तर हामी सहित सबै हस्पिटलले
अक्सिजनको चरम संकट झेल्यौ ।
अवस्था कस्तोसम्म आयो भने यता विरामीलाई हाइ फल्लोमा अक्सिजन चाहिने, भएको सकिन्न लाग्यो सरकारले कोटा तोकेका कारण अक्सिजन ल्याउने ठाउँ पनि छैन, धर्मसंकटको अवस्थामा हामी पनि गुज्रियौ । तर भगवान भरोसा, केही स्थानीय तहको सहयोगमा हामीले अक्सिजनको समस्या टार्यौ । अर्को समस्या भनेको विरामीको चाप बढि अनि विरामी अनुसार आइसियू र भेण्टिलेटर अभाव पनि भयो । अन्य सामान्य अवस्थामा त समस्या थिएन । तर महामारीका कारण विरामीको चाप बढेपछि यो समस्या पनि आयो । अध्यक्ष लोक बहादुर टण्डन सहित सबै सञ्चालक र हस्पिटल टिम मिलेर हामीले जे जस्ता समस्या आउँछन् ति सबैसँग जुध्यौ । अहिले अवस्थामा केही सहज हुँदै गएको छ ।
– माहामारीका बेला सरकारको भूमिका कस्तो पाउनुभयो त ?
सरकारलाई गुनासा गर्ने धेरै ठाउँ छन् । हामी गुनासो भन्दा पनि विरामीको उपचारमै बढि केन्द्रीत थियौ । तर सरकारका केही अव्यवहारिक निर्णयले हामीलाई निकै अप्ठेरोमा पार्यो । त्यो भनेको सीसीएमसी निर्णयले अक्सिजनमा कोटा तोकेपछि निकै असहज भयो । यही बेला अक्सिजनमा चेलखेल हुँदा धेरै ठूलो सकस बर्होनुपर्यो ।

अझ त्यसमाधि १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न आदेश दिने सरकारको त्यो निर्णय आफैमा अव्यवहारिक थियो । त्यस लगायतका महामारीको सरकारले राम्रो नीति अवलम्बन गर्न सकेन । सरकार आफै अलमलमा पर्यो । सबैलाई थाहा छ नि महामारी नियन्त्रण गर्नतिर लाग्नु पर्ने सरकार सत्ताको जोड घटाऊ तिर लागेको । यस्तै अवस्था रहने र कोरोनाको तेस्रो लहर पनि आए अझै धेरै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले सरकारले बेलैमा यसतर्फ सोच्न अति नै जरूरी भइसकेको छ ।
– हस्पिटलको अबको योजना के छ ?
हामी अझै पनि महामारी केन्द्रीत छौ । जोखिम अझै टरिसकेको छैन । कोरोनाको तेस्रो लहर पनि आउने र यसबाट बालबालिका बढि प्रभावित हुने केही तथ्यहरू बाहिर आइरहेका छन् । यसबारे हामी बेलामै सगज भएर बालबालिकाको उपचारमा चाहिने आवश्यक तयारी गरिरहेका छौ । तयारी स्वरूप हामीले १३ सय सिलिण्डिरको लिकियुड अक्सिजन ट्याङ्कको पनि व्यवस्था गरिसकेका छौ भने अन्य तयारी भइरहेको छ ।
यसका अलवा हस्पिटलबाट नियमित प्रदान हुने सेवालाई थप व्यवस्थित गर्ने महामारीकासँग जुध्नको लागि पूर्वतयारी गर्ने नै हाम्रो योजना छ ।





