काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विरुद्धको रिटमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
“यसमा के कसो भएको हो निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नू ।” आदेशमा भनिएको छ ।
गत शुक्रबार राष्ट्रपति सपथ ग्रहण गराउने क्रममा ओली प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरी राष्ट्रपतिलाई त्यो पर्दैन भनेका थिए । सर्वोच्च प्रशासनका अनुसार सपथको विषयलाई शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको थियो।
बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका थिए । निवेदकहरुले त्यो शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् ।