महामारी नियन्त्रणका लागि जनस्वास्थ्यविद् रविन्द्र पाण्डेका महत्वपूर्ण ७ सुझाव, सबैले जान्नैपर्ने

विद्यमान महामारीलाई लक्षित गर्दै जनस्वास्थ्यविद् रविन्द्र पाण्डेले महत्वपूर्ण ७ बुँदा सुझाव दिनुभएको छ । उहाँको कुरालाई हामीले जस्ताको त्यस्तै साभार गरेका छौ । प्रस्तुत छन्, पाण्डेका ७ सुझाव :
बिदेशमा रहनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनी,
नेपालमा अहिले कोरोना माहामारीको दोस्रो लहरले अकल्पनीय स्थिति आएको यहाँहरुलाई अवगत नै छ । आगामी २ हप्ता निकै सम्बेदनशील देखिएको छ । हामीकहाँ अक्सिजनको माग र आपूर्तिको सन्तुलन नमिलेको हुँदा अस्पतालहरु निकै कठिन अवस्थामा छन् ।
.
१. अक्सिजनको अभाव –
नेपालमै अक्सिजनको चर्को अभाव भएको हुँदा यहाँ अक्सिजन किन्न पैसा पठाएर त्यसको खास अर्थ छैन । तसर्थ जति सकिन्छ, दुताबास / एनआरएन आदि संस्थासंग समन्वय गरेर अक्सिजन सिलिन्डर तथा कन्सन्ट्रेटर जति छिटो सकिन्छ, उतैबाट खरिद गरेर पठाउनुहोला । अक्सिजन पर्याप्त नभएमा अस्पताल वा आइसोलेसन सेन्टरमा बेड थपेर खासै उपलब्धि नहुने देखिन्छ । अक्सिजनको पर्याप्तता भए सबै अस्पतालमा अधिकांश बेड कोभिडको लागि छुट्याउन सकिन्छ । अक्सिजन भरिएका सिलिन्डर पठाउँदा एकातर्फ तत्काल अक्सिजन दिएर धेरै संक्रमितलाई बचाउन सकिन्छ भने अर्को तर्फ अक्सिजन सकिएपछि ती रित्ता सिलिन्डरलाई अक्सिजन प्लान्टबाट रिफिल गर्न सकिन्छ । हामीकहाँ करिब ६ हजार सिलिन्डर भएको तर १५ हजार सिलिन्डर आबश्यक छ । कतै अक्सिजनको कमी देखिएको छ भने कतै सिलिन्डरको अभाव देखिएको छ ।
२. मेडिकल सामग्री तथा उपकरण –
भेन्टिलेटरको सिमितताको अर्को समस्या बनेको छ । जति छिटो सकिन्छ; भेन्टिलेटर, ओरिजिनल एन ९५ मास्क, पिपीई, पंजा लगायत सामग्री संस्थागत रुपमा खरिद गरेर पठाउनुपर्ने अवस्था देखिएको छ । यो एकल प्रयासबाट सम्भव छैन । संस्थागत रुपमा ब्यबसायीबाट यो सम्भव छ । हामी कहाँ गम्भीर बिरामीमध्ये १३३४ आइसीयु, ३७१ भेन्टिलेटरमा रहनुभएको छ । संक्रमित मध्ये ७.९ % अस्पतालमा तथा अन्य होम आइसोलेसनमा हुनुहुन्छ । भेन्टिलेटरको अभाव अर्को समस्या बनेको छ । यसपटक सबैभन्दा धेरै २२ देखि ४४ बर्षका अनि ५० देखि ५४ वर्ष उमेरका व्यक्ति संक्रमित हुनुभएको छ । स्वास्थ्यकर्मीमा संक्रमणको दर बढेमा जनशक्तिको अभाव हुनसक्छ । तसर्थ ओरिजिनल सुरक्षा कवच पर्याप्त मात्रामा आबश्यक देखिएको छ
३. एनआरएनका अनुसार ओमनमा संकलित ५७० अक्सिजन सिलिन्डर नेपाल आएको छ । ६७० वटा कन्सन्ट्रेटर किनेको अवस्थामा छ, कोरिया तथा चीनमा पनि जम्मा भइरहेको छ । क्यानडाबाट पनि ५० थान भेन्टिलेटर र केहि सय अक्सिजन सिलिन्डर आउने बुझिएको छ । ट्रान्जिट देशमा सामग्री किनेर संकलन गर्दा यहाँको बायुसेवाबाट छिटो ल्याउन सम्भव हुन्छ ।
४. यहाँहरुले त्यहाँको सरकारसंग पहुँच राखेर नेपालको अवस्था जानकारी दिई सकभर अन्तराष्ट्रिय समुदायबाट अक्सिजन तथा उपकरणको सहयोगको लागि लबिंग गर्नुपर्ने देखिन्छ । भारतमा संसारको ध्यान आकर्षित भएर सहयोग ब्यापक आएको छ । संक्रमण दर अहिले भारतको भन्दा नेपालको उच्च देखिएको छ । नागरिकको जीवनरक्षाको लागि अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नु ढिलो गर्ने समय हामीसंग छैन ।
५. खोप –
सरकारले निजि क्षेत्रलाई पनि खोप ल्याउने अनुमति दिएको छ।| चीन तथा रुसबाट ब्यबसायीहरुले जति सकिन्छ, खोप ल्याउने पहल गर्नु जरुरी छ । अमेरिका, फ्रान्स लगायतका देशले अल्पविकसित देशको लागि भनेर करोडौं डोज खोप सुरक्षित राखेका छन् । त्यस्तै कोभ्याक्सले दिने १ करोड ३० लाख डोजमध्ये जम्मा ३ लाख ४८ हजार डोज आएको छ । ती सबै ठाउँबाट छिटो खोप ल्याउन पहुँच भएका व्यक्तिहरुले अग्रसरता लिनुहुन अनुरोध गर्दछु । स्मरण होस्, खोप लगाएका व्यक्तिहरुमध्ये केहि संक्रमित भएपनि सिकिस्त हुने तथा मृत्यु हुने अवस्था निकै कम छ । खोपले नै हामीलाई बचाउने हो | हाम्रा गतिबिधि सुचारु गर्ने हो ।
६. जनशक्ति :
बिदेशमा रहनुभएका बायोमेडिकल इन्जिनियरहरुले विपतको यो घडीमा स्वदेश आएर भेन्टिलेटर. मोनिटर, अक्सिजन प्लान्ट आदिको मर्मत तथा क्षमता वृद्धि गर्नुभएमा मातृभूमिको लागि ठूलो योगदान हुनेछ ।
त्यस्तै फ्रन्टलाइनमा खटिएर बिभिन्न देशमा महामारी नियन्त्रणको अनुभव लिनुभएका बिबिध जनशक्ति ( मेडिकल / रेस्क्यु आदि ) स्वदेश आएर योगदान गर्नुहुन अनुरोध गर्दछु । यस्तो जनशक्ति र यहाँको जनशक्ति मिलेर मोबाइल टिम गठन गर्न सकिन्छ । उक्त टिम होम आइसोलेसनमा रहनुभएका संक्रमितलाई अस्पताल जानु पर्ने अवस्था आउन नदिन खटाउन सकिन्छ ।
७. देश फर्काउने बाताबरण –
अहिले अरब लगायत धेरै देशका नेपाली दाजुभाइ तथा दिदीबहिनी स्वदेश आउन पाउनुभएको छैन । उहाँहरुलाई स्वदेश फर्काउनको लागि चार्टर गर्नु जरुरी छ ।
.
अन्त्यमा
– महामारीको प्रकृति हेर्दा यो पटकको घातकतासंग तुरुन्त एक्सनमा जानुपर्ने अक्सिजन, भेन्टिलेटरको जति सकिन्छ त्यति छिटो ब्यबस्था तथा अर्को लहर आएमा त्यसलाई सामना गर्ने तयारी अहिलेदेखि नै गर्नुपर्ने हुन्छ । यसमा हामी सबैको ठूलो योगदान आबश्यक रहेको छ । यसको लागि सरकारको उत्कर्ष सक्रियता अपेक्षित हुन्छ ।
– महामारीको समयमा आरोप प्रत्यारोप गर्नुको कुनै अर्थ छैन | यो बेला हामी सबैले आम नागरिक तथा स्वास्थ्यकर्मिको मनोबल बढाएर, आतंक तथा सनसनीपूर्ण कुरा सम्प्रेषण नगरेर तथा जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर / गराएर, उपचारको ब्यबस्था गरेर तथा अर्को लहरबाट बच्नको लागि समेत खोपलाई निशुल्क, सहुलियत दरमा उपलब्ध गराएर छिटोभन्दा छिटो सामान्य जीवनमा फर्किने बाताबरण मिलाउनु जरुरी छ ।
– यो महामारी हामी सबैले प्रयास गरेमा आगामी २ हप्तापछि ओह्रालो लाग्दै २-३ महिनामा सहज अवस्था आउने विश्वास छ । संक्रमणको चेन तोड्नको लागि यो २ हप्ता सबैजना घरमा बस्ने, दैनिक काम गरेर खाने बर्गलाई सरकारले स्थानीय निकायबाट ठोस राहत दिने, काममा जानुपर्नेले डबल मास्क, दुरी र हातको सफाइमा पूर्णरुपमा ध्यान दिनु जरुरी छ | हामी जति स्वअनुशाशित हुन्छौं, त्यति नै छिटो संक्रमणको चेन तोडिन्छ । भारतमा अहिले धेरै सहज अवस्था आएको छ । नेपालमा पनि आउनेछ । यहाँहरु सबैको आरोग्यताको कामना गर्दछु ।
डा. रवीन्द्र पाण्डे

तपाईको प्रतिक्रिया