सत्ता खेलमा माधव नेपाल निर्णायक, ओली सत्ता गुम्न सक्ने

काठमाडौं । सत्ता समिकरणमा एमालेकै माधव नेपाल समूह निर्णायक देखिएको छ । यसअघि सत्ताधारी दल एमालेको प्रतिनिधिसभामा १ सय २१ सिट हु्ँदा जसपाको महन्थ ठाकुर पक्षले मात्र समर्थन गरे एमाले सरकार जोगिने भनिएकोमा बैशाख २७ नजिकिदै गर्दा बरिष्ठ नेता माधव नेपाल समूह नै निर्णायक शक्तिको रूपमा देखा परेको हो ।

प्रधानमन्त्री ओलीले फागुन २३ पछिका सबै निर्णय खारेजी गरी पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा नर्फकाए सरकारलाई समर्थन नगर्ने माधव समूहले स्पष्ट संकेत गरेको छ । यही बमोजिम यो समूहले बैशाख २७ ओलीलाई विश्वासको मत नदिएमा वा सो भन्दा अघि सांसद पदबाट राजीनामा दिएमा ओलीले सरकारबाट विदा लिनुपर्ने अवस्था आउनेछ ।

प्रतिनिधिसभामा नेपाल समूहमा प्रत्यक्ष निर्वाचित सांसदको संख्या बढि छ । यो मध्ये १५ जना सांसदले मात्र सांसद पदबाट राजीनामा दिने हो भनेपनि ओली अप्ठेरो पर्नेछ । बागमती प्रदेशमा रिक्त्त राष्ट्रियसभा सदस्यमा एमाले विरूद्ध एमालेकै उम्मेद्वार खडा हुनुले पनि नेपाल र ओलीवीच सहमति बन्न नसके विपक्षीले सरकार बनाउने लगभग निश्चित छ ।

तपाईको प्रतिक्रिया