बैशाख ११, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नेपालको गौरव र इतिहाससँग जोडिएको छ यसलाई ढलिरहन दिनु हुदैन भनेका छन् ।
नवनिर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसलाई ढलिरहन दिनु हुदैन भनि मै बनाउछु मेरो धरहरा भन्ने अभियान अन्तर्गत २०७२ फागुन ४ गते सुरु गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले धरहरा बनाउन जनताका विभिन्न आयाम छन्, सहभागिताको आयाम छ, भावनाका आयाम छन् भनेका छन् । देश भित्र र बाहिरबाट थुप्रै नेपालीहरुले रु २४ करोड सहयोग प्राप्त भएको पनि जानकारी पनि दिएका छन् ।
प्रधानमन्त्रीले भने “धरहराको भग्नावशेष हेर्दा मन नै खिन्न हुन्छ, धरहरा उठ्दा आफै उठे जस्तो हुन्छ, यो हाम्रो भावना, गौरव, अतित र इतिहाससंग जोडिएको छ, इतिहास झल्किने, आधुनिकता टल्किने अवधारणमा ध्यान दिनेगरी बनाएका छौं, त्यसै कारण उस्तै देखिने गरी अझै राम्रो बनाउने नारा थियो ।”
सम्बोधनका क्रममा प्रधानमन्त्रीले धरहरा चढ्दाको अनुभव सुनाउँदै, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’