अभावको छिटाले डामेपछि उक्किएको मन

कुन्दन काफ्ले –  “तेरो बाउले कमाएको सम्पत्ति पछि तिमीहरुकै लागि त हो नी” घर तर्फका आफन्तजनहरुको मुखबाट घरि घरि निस्किएर अबोध नविनको कानमा ठोक्किन पुग्ने यस्ता विचलित स्वरहरु उसका लागि बेमौसमी बाजा जस्तै आधारहीन, असान्दर्भिक र वाक्क लाग्दा हुन्थे । सम्पतिको महत्व र त्यसको उपयोगीताबारे खासै राम्ररी बुझि नसकेका कारण नविनलाई त्यसबेलाका ती स्वरहरु कुण्ठित र वेतुकका लाग्नु प्रायः स्वाभाविकै थियो । यो त्यो बेला हो जुन बेला नविनको सम्पत्ति माथिको अधिकार ऊ बाट खोसिएको हुन्छ । नविनलाई यो कुरा बुझ्न झण्डै पच्चीस वर्ष लाग्छ । तर यति बेला सम्ममा उसको जीवनले कोल्टो फेरिसकेको हुन्छ । उसले आफ्नो जीवनको महत्वपूर्ण क्षण र सम्पूर्ण स्वास्थ्य भित्रको एक महत्वपूर्ण पाटो मानसिक स्वास्थ्यलाई तिलाञ्जली दिइसकेको हुन्छ । अर्थात् यसवीच स्वयम् आफूले स्वीकार गर्न नसकिरहेको अभावग्रस्त अवस्थासँग आवस्यकता परिपूर्तीका लागि पौठाजोरी खेल्नुपर्ने बाध्यता रहेका कारण नविनबाट आफ्नो मानसिक स्वास्थ्यको राम्रो हिफाजत हुन सक्दैन र केही समय पछाडि नै उसलाई मानसिक वा मनोवैज्ञानिक समस्या देखापर्छ । अर्थपूर्ण नलाग्ने उतिबेलाका ती स्वरहरु उसले मनन गर्न सकेको भए पक्कै पनि आज आएर नविनले समुदायिक सहभागीताका लागि अयोग्य हुने मानसिक स्वास्थ्य समस्याबाट प्रताडित भएको मन लिएर बाँच्नु पर्दैनथ्यो होला ।

कथा जस्तो लाग्ने माथि उदृत सत्य घटनामा आधारित दृष्टान्तमा नविनलाई थाहै नभई उ आफ्नो सम्पत्ति माथिको अधिकारबाट बञ्चित भएको हुन्छ । जसले गर्दा सम्पत्तिसँग जोडिएका हरेक पक्षहरु जस्तै स्वास्थ्य, शिक्षा, खाद्य इत्यादि माथि उसको पहुँच कमजोर हुन जान्छ । त्यस बेला नविनलाई चारैतिरबाट शोषण भइरहेको हुन्छ जुन बेला उसलाई आफ्नो शोषण भइरहेको छ भन्ने कुराको हेक्का वा ज्ञान हँुदैन अथवा उसमा सो कुरा पहिल्याउन सक्ने क्षमताको विकास भइसकेको हँुदैन । विस्तारै एक पछि अर्को गर्दै उसका विभिन्न अधिकारहरु हनन हुन थाल्छन् । नविन अधिकारहरुको चरम दुरुत्साहनमा फस्छ र चरणबद्ध रुपमा भएको यस्तो दुरुत्साहनले ऊ मानसिक रोगी बन्न पुग्छ । मानसिक रुपमा कमजोर भएपछि भेदभाव, तिरस्कार, पक्षपात, दुव्र्यवहार, विभेद र हिंसा उसका हिमायति बन्न पुग्छन् । स्वतन्त्रताबाट ऊ पुर्ण रुपले बञ्चित हुन पुग्छ । आफ्नै संरक्षकको चरम निगरानीमा पर्छ र संरक्षकको अनुचित प्रभाव तथा नियन्त्रणमा रहँदाका बखत ऊ आफ्नै अगाडि आफ्नो संविधान प्रदत्त मर्यादित रुपमा जीवन बाँच्न पाउने मौलिक अधिकार हनन भएको मुकदर्शक भएर हेर्न बाध्य हुन्छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी दस्तावेजहरुमा मानव अधिकार सर्वव्यापक, अभिभाज्य, अन्तर निर्भर र अन्तर सम्बन्धीत हुन्छन् भनेर किटानका साथ उल्लेख भएको अवस्था छ । यसबाट व्यक्तिको कुनै एउटा अधिकार हनन भयो भने त्यसको प्रत्यक्ष वा परोक्ष असर बाँकी अन्य अधिकारहरुमा पनि पर्छ भन्ने कुरा बुझ्न सकिन्छ । तर नविन वा नविन जस्ता अन्य व्यक्तिहरुलाई आफ्ना अधिकारहरु हरण भएको कुरा जानकारीमा आउँदासम्ममा उनीहरु आफ्ना निकट वा सामिप्यतामा रहेका व्यक्तिहरुबाटै दुव्र्यवहारको सिकार भई प्रतिवाद गर्न नसक्ने गरी मानसिक रुपले सिथिल बनिसकेका हुन्छन् ।

मानसिक रोगी, पागल, वौलाह, मगज विग्रेको, अस्वस्थ मगज भएको जस्ता शब्दावलीहरुको प्रयोगबाट व्यक्तिलाई सम्पूर्ण क्रियाकलापको भागिदार बनाई समस्या हुनुमा उसको मात्र संलग्नता रहेको दावी गर्दै सो कुरा पुष्टी हुनेगरी संबोधन गर्न राज्यपक्षलाई जति सजिलो छ, मनोसामाजिक समस्याको जडमा गएर पितृसतात्मक सोचले जन्माएको सामाजिक विकृति पत्ता लगाई सो अनुरुप त्यसमाथि प्रहार गरेर पीडितलाई न्याय दिनु सायद उसका लागि त्यत्तिकै हितकर विषय अन्य छैन होला ।

त्यसैले, अन्त्यमा उल्लेखित प्रतिनिधी घटना समाजमा रहेको जिवन्त प्रमाण भएतापनि लहरो तान्दा पहारो गर्जन सक्ने सम्भावनाका कारण राज्य पक्ष समाधानका लागि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको हक–अधिकारका लागि उठ्ने अथवा उठाइने गरेका यस्ता सम्पूर्ण सवाल तथा महत्वपूर्ण मुद्दाहरुमा किनारा लाग्ने गरी सम्बोधन गर्नुको बदला पलायनवादी सोचबाट ग्रसित भई आफ्नो साख जोगाउनका लागि कमी कमजोरीहरुलाई ढाकछोप गर्दै तैं चुप मै चुपको पक्षपातपूर्ण नीति अख्तियार गर्न लालायित रहेको झैं देखिन्छ भन्दा अत्युक्ति नहोला ।

तपाईको प्रतिक्रिया