सकारात्मक शिक्षा : सकारात्मक समाजको आधार

डा. रामचन्द्र लामिछाने ।  प्रसिद्ध वैज्ञानिक अल्वर्ट आन्सटाइनका अनुसार शिक्षा भनेको वास्तविकताहरू को सिकाइ मात्रै होइन यो त मष्तिष्कलाई सोच्न सिकाउने तरिका हो । शिक्षा भनेको निश्चित मापदण्ड पूरा गरेर प्रमाण पत्र प्राप्त गर्नु भन्दा अधिक वढी हो । यो रचनात्मक तौर तरिकाहरूको आविष्कार गरेर जीवनलाई गुणस्तरीय र सहज वनाउन सहजीकरण गर्ने सीप हो । परम्परागत औपचारीक शिक्षामा निश्चित मापदण्ड पूरा गरेर प्रमाणप्रत्र प्राप्त गर्नुलाई शिक्षा भनिन्थ्यो भने आधुनिक सकारात्मक शिक्षाको मुख्य उद्धेश्य भनेको विद्यालयसँग सम्वन्धित क्षेत्रहरू त्था विधार्थीहरू को मानसिक स्वास्थ्यलाई सकारात्मक रूपले फष्टाउने गरी प्रवर्धन गरी व्यक्ति स्वयम्, परिवार, समाज, राष्ट्र र सिंगो मानव समुदायको हितमा सकारात्मक कार्य गर्न अभिप्रेरित गर्नु हो ।

नेपालमा विद्यालयहरूमा विधार्थीको भर्ना दरमा निकै सकारात्मक उपलब्धि हासिल भएको भएपनि सिकाइको दृष्टिकोणले हेर्ने हो भने निकै नै निरासाजनक अवस्था छ । सबै अभिभावकहरू आफ्ना बालवच्चाहरूले राम्रो ज्ञान सिकुन् र विज्ञता हासिल गरून् भन्ने चाहना राख्दछन तर नेपालको शिक्षा प्रणाली परम्परागत मनोविज्ञान र सैद्धान्तिक एबं परिक्षा केन्द्रीत शिक्षण भएका कारण विगत निकै लामो समयदेखि अपेक्षाकृत परिणाम प्राप्त हुन सकिरहेको छैन ।

समग्र शिक्षा प्रणालीमा वैज्ञानिक प्रणाली स्थापना हुन नसकेको कारण जति लगानी गरेपनि अपेक्षीत प्रतिफल प्राप्त हुन सकेको छैन र यही पद्धतीलाइ निरन्तरता दिने हो भने शिक्षा क्षेत्रको लगानी सधै वालुवामा पानी हाले सरह भैरहन्छ । जवसम्म शिक्षाको लगानीले सहि प्रतिफल दिदैन तवसम्म देशका अन्य सबै पद्धतीहरू निष्प्रभावी हुन्छन । समग्र शैक्षिक प्रणाली प्रभावकारी नहुँदा सरकारी लगानी खेर गइरहेको छ भने विद्यार्थी एवम अभिभावकहरूमा असन्तुष्टि वढेको छ । देशमा भ्रष्टचार मौलाएको छ, समाजमा सदभाव र प्रेम अस्ताएको छ, सिंगो देश परनिर्भर भइरहेको छ । सुशासन र जवाफदेहीता केवल प्राज्ञिक वहसको विषय भएको छ । यस्तै, अवस्थाको निरन्तरतामा रमाउने की नयाँ पद्धतीको सुरू वात गर्ने ? निर्णय गर्ने वेला आएको छ । अवको शिक्षा प्राणाली यस्तो अवस्थाको अन्त गरी द्रुत सकारात्मक प्रतिफल दिने र सकारात्मक जीवन पद्धती निर्माण गर्ने प्रकारको हुनुपर्दछ । त्यसको लागि शिक्षासँग सम्वन्धित सबैको दृष्टिकोण र सोचमा आमूल रूपान्तरण आवश्यक छ ।

प्रसिद्ध दार्शनिक सुकरातका अनुसार शिक्षाले मानिसहरूका मष्तिष्क भित्र लुकेर रहेका असिमित सकारात्मक एवम् सिर्जनात्मक सोचहरू लाई प्रष्फुटन गराउन सक्नुपर्दछ । विद्यालय, शिक्षक, अभिभावक र सम्वन्धित सरोकारवालाहरूले प्रत्येक विद्यार्थीहरू भित्र रहेका त्यस्ता असिमित तर असाधारण सोचहरू र सिर्जनशिलताहरूलाई प्रष्फुटन गराउने शैक्षिक वातावरण र तौर तरीकाहरू निर्माण गर्नुपर्दछ जसले गर्दा मात्र २१ औ शताब्दीको लागि अन्तर्राष्ट्रिय शिक्षा आयोगले परिकल्पना गरेको प्रत्येक विद्यार्थीका शारिरिक, मानसिक, वौद्धिक तथा आध्यात्मिक सम्भावनाहरूको प्रष्फुटन गराउने गरी गुणस्तरीय शिक्षाका लक्ष्य प्राप्त गर्न सकिन्छ ।

गुणस्तरीय जीवन उपयोगी शिक्षामा प्रत्येक विद्यार्थीले सिकेका ज्ञान र सीपअनुरूप व्यवहार गर्न सक्ने तथा एक अर्कासँग घुलमिल हुन सक्ने हुनु पर्दछ । यसको लागि परमपरागत मनोविज्ञानमा आधारीत शिक्षाको सट्टा सकारात्मक मनोविज्ञानमा आधारित शैक्षिक प्रणाली अवलम्वन गर्न सक्नुपर्दछ । सकारात्मक शिक्षा प्रणाली परम्परागत मनोविज्ञानका सकारात्मक पक्षहरू र सकारात्मक मनोविज्ञानको समिश्रण हो, जसले मानवीय संवेदना र खुशीका कारणहरू को खोजविन गरी ती कारणहरू वढाउने आधारहरू खोज्दछ । यस प्रकारको अभ्यासले व्यक्ति भित्रको नैरश्यता, नकारात्मकता र कमजोरीलाइ हटाएर सकारात्मक र समृद्धीका कारणहरू प्रवर्धन गर्न प्रोत्साहीत गर्दछ । सकारात्मक मनोविज्ञानले विद्यार्थीहरू का सकारात्मक पक्षहरू के के हुन र के कति कारणले विद्यार्थीहरू खुशी साथ सफलता प्राप्त गर्न सक्दछन भन्ने कुराहरू को कारण खोज्दछ ।

माहात्मा गान्धीका अनुसार, शिक्षा भनेको समाजका विविधतालाई स्विकार गरेर एक अर्काको अस्तित्वलाइ सम्मान गर्दै सहज र सरल तवरले घुलमिल हुन सक्नु हो । यसका लागि कक्षा सहपाठी एबं समाजका सवै पक्षहरू को अस्तित्व स्विकार गर्ने सक्ने सोच र तदनुरूपको व्यवहार निर्माण आवश्यक पर्दछ । सकारात्मक शिक्षाले विद्यार्थीहरूमा अन्तरनिहित सकारात्मक क्षमता एबं दक्षताहरूलाई सकारात्मक संवेगका माध्यमले प्रष्फुटन गराउँदछ र उत्साहजनक सिकाइको वातावरण निर्माण गर्दछ । यो सिकेका कुराहरू कोे व्यवहारिक रूपमा प्रयोग गर्ने सीपको विकास गर्ने वैज्ञानिक पद्धति सहितको कला हो । यो नयाँ अवधारण हो । नेपालका विद्यालय शिक्षण प्रकृयामा यो पद्धतीको प्रयोग एकदम नयाँ र आधुनिक हो ।

सकारात्मक शिक्षा विधार्थीहरू एबं शिक्षक र तीनका परिवारका सदस्यहरू समेतको खुशीका कारण र ती कारणहरू को सम्वर्धन एवम प्रवर्धन गर्न सक्ने संवेगात्मक भावनाहरू तथा सीपहरू को विकास गर्ने माध्याम हो । यसले व्यक्तिका सकारात्मक क्षमता एवम् दक्षताहरू , सकारात्मक संवेग, विलक्षण गुणहरू , सकारात्मक सम्वन्धका कारणहरू , सकारात्मक संगठानात्मक व्यवहारहरू , सकारात्मक नेतृत्व विकास, सकारात्मक दृष्टिकोण आदि कुराहरूको खोजी गर्न अभिप्रेरित गर्दछ र यी कुराहरूमा अभ्यस्त गराएर सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्दछ । यस शिक्षण पद्धतिले राम्रो गर्न र राम्रो महशुस गर्न आभिप्रेरित गर्दछ । सकारात्मक शिक्षाले विद्यार्थीहरू का नकारात्मक र कमजोरीहरूको खोजी गर्नुको सट्टा उनीहरूमा अन्तरनिहित सकारात्मक संभावनाहरूको खोजी र विकास गरि उनिहरूमा सकारात्मक चरित्रको निर्माण गर्ने र सकारात्मक व्यवहारको लागि अभिप्रेरित गर्ने हुँदा कक्षा कोठामा एक अर्काप्रतिको सम्मानमा वृद्धि हुँदै जान्छ र यस्ता व्यवहारहरू को सकारात्मक प्रभाव घर परिवार र समाजमा पर्दछ । यस प्रक्रियाले विद्यालय, परिवार र समाजमा एक अर्काको अस्तित्व स्विकार गर्ने, एक अर्कालाइ सम्मान गर्ने सकारात्मक सँस्कृतिको विकास हुन्छ र सिंगो समाज सकारात्मक रूपान्तरणको दिशामा अगाडि वढ्छ ।

प्रोफेसर मार्टिन सेलिगमेनका अनुसार कुनै पनि व्यक्ति वा विद्यार्थीहरूसँग सकारात्मक व्यक्तित्व विकास गर्ने सकारात्मक संवेग, आवद्धता वा सहभागिताको रूचि, सकारात्मक सम्वन्धहरू विकास गर्ने क्षमताहरू , वृहत्तर सपना र सफलता प्राप्त गर्ने दक्षताको भण्डार हुन्छ । अतः प्रत्येक विद्यार्थीहरूमा प्रर्याप्त मात्रामा यस्ता सकारात्मक गुणहरू हुने हँुदा शिक्षण प्रणालीले ती गुणहरूलाई प्रष्फुटन गराउँन सक्नुपर्दछ । प्रत्येक शिक्षक, शैक्षिक व्यवस्थापक वा योजना विज्ञले उपरोत्त कुराहरूलाई ध्यानमा राखेर शैक्षिक नीति एबं कार्यक्रमहरू, विद्यालयका वार्षिक कार्यक्रमहरू, कक्षा शिक्षा योजना तथा पाठ योजना निर्माण गरेर कार्यक्रम सञ्चालन गर्ने वातावरण निर्माण गरेमा शैक्षिक क्षेत्रमा चमत्कारिक रूपमा सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ । यसको लागि शैक्षिक नेतृत्वमा रहेका व्यक्तिहरूको सोच्ने तरिकामा आमूल रूपान्तरण हुनु जरूरी छ ।

 

मानिसको अनुभूतीहरू र सोचहरूको वीचमा प्रत्यक्ष सम्वन्ध हुन्छ । सकारात्मक अनुभुतिहरूले सकारात्मक सोचको निर्माण गर्दछन् भने सकारात्मक सोचहरू ले नै सकारात्मक अनुभुतिहरू सिर्जना गराउँदछन् । नेपालको शैक्षिक प्रणाली परम्परागत मनोविज्ञानमा आधारित भएको कारण विद्यार्थीहरूलाई दवाव दिएर वा दण्ड दिएर उत्कृष्ट हुन अभिप्रेरीत गरिन्छ । जव शिक्षकले विद्यार्थीलाई दवाववा दण्ड दिने गर्दछन् तव विद्यार्थीले नकारात्मक अनुभुति गर्दछन र त्यस्ता नकारात्मक अनुभुतिहरूले नकारात्मक सोच पैदा गराउँदछ फलस्वरूप विद्यार्थीको भूमिकामा सुधार आउन सक्दैन । त्यसको विपरीत जव विद्यार्थीका सकारात्मक कुराहरू पत्तालगाई स्यावासी दिइन्छ तव सकारात्मक अनुभुतिहरू पलाउँदछन र विषयवस्तु प्रति सकारात्मक सोच पलाउँदछ । फलस्वरूप विद्यार्थीहरूले सकारात्मक परिणाम प्राप्त गर्दछन् । त्यसकारण सकारात्मक शैक्षिक प्रणालीले ह्रिदय र मस्तिष्कलाई जोडने र उत्साह एबं सकारात्मक उर्जा वढाउने आधार तयार गर्दछ । यस प्रणालीले विद्यार्थीहरूलाई उनिहरूको सकारात्मक चरित्र र प्राज्ञिक उत्कृष्ठता वृद्धि गर्ने कुराहरू प्रति केन्द्रित गराउँदछ ।

सकारात्मक शिक्षा प्रणालीले विशेषतः सकारात्मक चरित्रलाई प्रमुख प्रवल चरित्रहरूको रूपमा खोज गरी ती चरित्रहरू हुनुका आधार एवम् तिनीहरूको वृद्धि एबं विकासका कारणहरू खोज्न अभिप्रेरित गर्दछ जसले गर्दा विद्यार्थीहरूको सकारात्मक व्यत्तित्वको विकास हुन्छ । विशेषतः विद्यार्थीहरूका जन्मजात वाहेक आर्जन गरेका सकारात्मक चरित्रहरूलाई वारम्वार स्याहार, संभार एवम् प्रयोग गरिरहनु पर्दछ । जसले गर्दा विद्यार्थीहरूमा पूर्ण रूपमा सकारात्मक चरित्रको विकास हुन्छ र सकारात्मक एबं रचनात्मक सृजना गर्न अभिपे्ररित हुन्छन् ।

सकारात्मक शिक्षा पद्धति नयाँ भएकोले यस विधीलाइ विद्यालयमा लागु गर्न यससँग अन्तरनिहित अर्थहरू वुझ्ने विद्यालयका सम्वन्धित सवै पक्षहरू शिक्षक, व्यवस्थापन समूह, विद्यार्थी एबं अभिभावकहरूलाई यस पद्धति, यसमा अन्तरनिहित अर्थ र उद्धेश्यहरूको वारेमा प्रर्याप्त ज्ञान र सीप विकास गरी तदनुरूपका योजना र शैक्षिक क्यालेण्डर वनाउन जरूरी हुन्छ । सकारात्मक शिक्षा एक सम्पूर्ण प्रक्रिया भएकोले विद्यालयको शैक्षिक क्यालेण्डर नै सकारात्मक खोज पद्धतीमा रहेर निर्माण गर्न सकेमा मात्रै यो प्राप्त योग्य हुन्छ । विद्यालयको सकारात्मक शैक्षिक क्यालेण्डरले विधार्थी, शिक्षक, कर्मचारीहरू एबं अभिभावकहरू सबैलाई नकारात्मक र नैराश्यवाट टाढै राखेर रणनीतिक रूपमा उत्साह र खुशीका कारण खोज्न अभिप्रेरित गर्दछ भने विद्यार्थीहरूलाई सिर्जनात्मक र रचनात्मक हुने आधार तयार गर्दछ । सकारात्मक शिक्षा पद्धतीलाइ प्राथामिक विद्यालयहरू देखि नै व्यापक रूपमा लागु गर्न सकेमा नेपाली समाजमा सकारात्मक सँस्कृतिको दीगो आधार तयार गर्न सकिन्छ ।

लेखक शहरी योजना आयोग पोखराका उपाध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया