खड्गीको अनुभव: पहिलो गोल्ड मेडल हात पार्दा बुवाबाट दरबारमार्गको आइसक्रिम र ४ हजारको ट्रयाकसुट

विहानै उठ्यो र जम्मा भएका प्रशिक्षार्थी खेलाडीहरू सिटी फुक्दै कराते सिकायो, दिउँसो विभिन्न स्कुलहरूमा पुग्यो त्यहाँपनि आफ्नो टिमका प्रशिक्षक सहित प्रशिक्षार्थी विद्यार्थीहरूलाई आवश्यक निर्देशन दियो, र बेलुका पनि उही, प्रशिक्षार्थीहरू सँगैको व्यस्तता ।

यसरी नै १५ बर्षदेखि सिला खड्गीको दिनचर्या वितिरहेको छ । २०५५ सालमा बाबु रत्न खड्गी र आमा नानीछारी खड्गीको प्रेरणामा कराते सिक्न शुरू गरेकी सिलाले २०५७ मा ब्लयाक बेल्ट प्राप्त गरेपछि उनले कराते प्रशिक्षण गर्न थालेकी थिइन् ।

आफ्नो अनुभव सुनाउँदै खड्गीले भनिन् ‘‘सन् २००१ मा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगीतामा मैले गोल्ड मेडल हात पारे, त्यो दिन मलाई मेरो बुबाले खुसी भएर पहिलो पटक दरबार मार्गमा लगेर आइसक्रिम खुवाउनुभयो र ४ हजारको ट्राकसुट समेत किनीदिनुभयो, अहिले सम्झिदा मेरो लागि त्यो सबैभन्दा खुसि र रमाइलो क्षण हो ।’’ सिला करातेमा सक्रिय रूपले लागेको भने १५ बर्ष पूरा भएको छ ।

उनले ६ बर्षदेखि सिफल खेलकूद प्रतिष्ठान (क्लब ) नेतृत्व गर्दै आएकी छिन् । खड्गीले नेतृत्व गरेको खेलकूद प्रतिष्ठान सम्भवत काठमाडौं उपत्यकामा महिलाद्धारा सञ्चालित पहिलो प्रतिष्ठान पनि हो । यो प्रतिष्ठानमा अहिले ७५ जना प्रशिक्षार्थीले कराते सिकीरहेका छन् भने विभिन्न स्कुलमा गरेर सिलाको टीमले झण्डै ४ सय विद्यार्थीलाई कराते सिकाउने जिम्मा लिदै आएको छ ।

विगततिर फर्केदा हेर्दा सिला अल्लि भावुक हुन्छिन् । सिलाका लागि शुरूवाती दिन संघर्षपूर्ण थिए । उनी भन्छिन्, ‘‘त्यो बेला कराते सिक्ने अधिकांश प्रशिक्षार्थी केटा हुन्थे र महिला प्रशिक्षक समेत थिएनन, महिला भएर कराते सिक्न निकै अप्ठेरो परिस्थिति थियो, मेरो बुवा नै कराते सक्ने ठाउँमा साथी बस्न जानुहुन्थो, बुबाकै सामू कराते खेल्न केही असहज पनि हुन्थो तर अहिले समय बदलिसकेको छ, धेरै परिवर्तन आइसकेको छ, कराते खेलमा महिला सहभागीता पनि बलियो बन्दै गएको छ । ’’ सिला गोजुरियो करातेमा बल्याक बेल्ट ४ डन र अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् ।

उनी आजको दिनमा आफ्नो दाजु राजेन्द्र खड्गीलाई आफ्नो प्रेरणा र मुख्य सहयोगी मानछिन् । दाजु राजेन्द्र पनि सिलाकै क्लबमा सचिव भूमिकामा रहेर काम गर्दा उनलाई अहिले धेरै सजिलो समेत भएको छ । यसलाका अलवा अमेरिकामा रहेकी बैनी, सुमित्रा शाही खड्गी, पोर्चुगलमा रहेकी सपना शाही र ऋषिता देवले विशेष सहयोग गर्दै आएको उनी बताउँछिन् । कराते खेललाई व्यवसायिक बनाउने शिलाको भविष्यको सोच छ ।

अहिले कतिपय ठाउँमा कराते सिकाएर पनि उनको टीमले समयमै पारिश्रमिक पाउन नसकेको गुनासो सिला गर्छिन् । आफूले उत्पादन गरेका खेलाडी र समग्र र खेलकूद क्षेत्रलाई व्यवसायिक बनाउन सरकारले चासो लिनुपर्ने सिलाको बुझाइ छ । उनको खेलकूद प्रतिष्ठानले किक, बक्सिङ, जुम्बा प्रशिक्षण पनि दिदै आएको छ । भविष्यमा आफ्नो प्रतिष्ठानको क्षेत्र विस्तार गर्दै लैजाने र बाँकी समय समेत खेलकूद क्षेत्रलाई दिने सिलाको सोच छ ।

Published On:  515पटक हेरिएको

तपाईको प्रतिक्रिया