काठमाडौँ, काठमाडौं महानगरले खुलामञ्चमा महिनौँदेखि परोपकारी समूहहरूले खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध गरेको छ।
साझा पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’
साझा पार्टीले सरकारको सो कदमको विरोध जनाउन बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने जनाएको छ । पार्टीले भनेको छ, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’
पार्टीले सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गर्न आग्रह गरेको छ ।
बिज्ञप्ति
केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ।
कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।
सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।
साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो। साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गर्दछ।
सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्।
शरदराज पाठक
प्रवक्ता, साझा पार्टी
१८ कार्तिक २०७७