काठमाडौं– लामो समयदेखि गति लिन नसकेको कर्मचारी समायाजनको प्रक्रियाले अब भने गति लिने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७७ हजार ३४ कर्मचारीले सामायजन फारम भरेका छन् । जसमध्ये संघमा सबैभन्दा धेरै ३५ हजार ३ सय ६४ कर्मचारीले समायोजन फारम भरेका छन् ।
संघपछि स्थानीय तहका २७ हजार ४ सय ६१ र प्रदेशका लागि १४ हजार २ सय कर्मचारीले समायोजन फारम भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शुरेस अधिकारीले जानकारी दिनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार करिब ३ हजारको हाराहारीमा कर्मचारीले समायोजन फारम नभरेको र उनीहरूलाई निजामति किताबखानाको विवरण अनुसार समायोनको प्रक्रियामा सामेल गरिने छ । समायोजन फारम भरेका कर्मचारीको बरिष्ठता, नागरिकता जारी भएको जिल्ला र रोजेको स्थान लगायका कुरालाई आधार बनाएर अब कर्मचारी समायोजन गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।
सरकारले गत पुस ११ गते सूचना जारी गरेर तीनै तहमा समायोजनमा जानका लागि कर्मचारीलाई आह्वान गरेको थियो । समायोजनका लागि आवेदन गर्ने समय गत माघ २ गते सकिएको थियो । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको थियो । सघंमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दीको सङ्गठन संरचना तयार गरेको थियो । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई आफैले खटाउने तयारी गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विशिष्ट श्रेणीको कर्मचारीको समायोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।