आर्थिक समृद्धिमा पूँजि बजारको भूमिका र वर्तमान अवस्था

-नरेन्द्र चुदाली

नेपालमा शेयर बजारको इतिहास लामो नै रहेपनि यसको विकास भने निकै सुस्त रह्यो । नेपालमा औपचारिक रूपमा सेयर कारोबारको सुरूवात वि. स. १९९४ सालमा पहिलो पटक विराटनगर जुट मिल र नेपाल बैकं लिमिटेडले सर्बसाधारणको लागि साधारण शेयर जारी गरेपछि भएको पाइन्छ ।

तर शेयर बजार विकासको मोडालीटी भने २०३३ सालमा सेक्युरिटी खरिद विक्रि केन्द्रको स्थापाना पश्चात भएको हो । २०४० सालमा धितोपत्र खरिद ऐन जारी गरेको सरकारले सो ऐनलाई समयानुकूल परिमार्जित गर्दै २०४९ मा शंसोधन गर्‍यो । सोही शंसोधनको आधारमा २०५० साल जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्ड र सोही बर्षकै पुस २९ गते नेपाल स्टक एक्सचेञ्ज को स्थापना गर्दै पूँजि बजारलाई विकास र विस्तारको प्रयास गर्‍यो ।

ओपन क्राई सिस्टम देखि अर्धस्वचालीत प्रणाली पार गर्दै नेप्से आजको अभौतिकरण कारोबारको अवस्थमा आइपुगेको छ ।
विगतका केही बर्षदेखि पूँजि बजारको विकास विस्तार र आधुनिकीकरणमा कुनै पहल नै नभएको भने होइन । डिम्याट प्रणाली को सुरूवात, सर्बसाधारणलाई मार्केट डेफ्ट हेर्न पाउने ब्यवस्था, ब्रोकर कमिशनमा कटौती, आस्वा प्रणाली को लागु, सार्वजनिक निष्काशनमा भएका नीतिगत सुधार, कारोबार समयको थप, ब्रोकरलाई दुईवटा लगइन प्रदान, ओटीसी मार्केटलाई ब्यवस्थित गर्ने पहल, नेप्से एप्स को ब्यावस्था, अलट ट्रेडिङमा सहज व्यवस्था, सि आस्वाको विकाससंगै प्राथामिक, हकप्रद तथा एफपिओ को अनलाइन आवेदन दिन सकिने ब्यवस्था लगायतका धेरै कामहरूको शुरूवात भएपनि हामी जुन गतिमा अगाडी बढ्नु पर्ने हो त्यस गतिमा भने हिड्न सकिरहेका छैनौ ।

किनकी राजनैतिक सक्रमण पछि अब देश आर्थिक समृद्धिको बाटोमा हिड्नु पर्ने छ जसको लागि अर्थतन्त्रको ऐनाको रूपमा रहेको पूँजि बजारको विकास र विस्तार अपरिहार्य छ । पूँजि बजारबाट देशमा रहेका उत्पादनमूलक क्षेत्र, जलविद्युत, होटल, विमा ,बैक तथा वित्तिय संस्थाहरूले पूँजि परिचालन गर्न सहजै सके भने मात्र त्यसले समृद्धि यात्रामा सहजता थपिने छ । किनकी पूँजिबजार अनुत्पादक क्षेत्र होइन ।

सर्वप्रथम हामीले यो भ्रम हटाउनु जरूरी छ । हुनसक्छ परिपक्क भइनसकेको हाम्रो बजारमा केही बिकृती र सट्टेबाजीका घटनाहरु देखिन सक्छन् । तर पूँजि बजारलाई पूर्ण रूपमा अनुत्पादक क्षेत्र भन्नु गलत छ । नेप्सेमा सूचिकृत कम्पनीहरुले यही बजारबाटै विभिन्न हकप्रद, एफपिओ, आईपिओ शेयर निष्कासन गरेर आफ्नो पूँजि बृद्धि गरी विभिन्न ठाउँमा लगानी गरिरहेका छन् । र कम्पनीहरूबाट प्रदान गर्ने त्यस किसिमका रिटर्नको लागि नै लगानीकर्ताहरु बजार प्रति आर्कषित भइरहेका छन् ।

आज शेयर बजारबाटै पूँजि संकलन गरेर जलविद्युत कम्पनीहरुले आयोजनाहरु निर्माण गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैकको पूँजि बृद्धि योजनाको कार्यान्वयनका लागि शेयर बजारमै पूँजि संकलन गरिरहेका छन् । उनीहरूले हकप्रद, फरदर अफरिङ शेयरबाट पूँजि बढाउने अभियानमा छन् । र धेरै सर्वसाधारण जनता र लगानीकर्ताहरूले शेयर बजारबाट आम्दानी गरेर आफू सम्बृद्ध भएका छन् । पूँजिगत लाभकर र अन्य करबाट सरकारको ढुकुटीमा राम्रो आम्दानी भएको छ । यसमा पूँजि बजारको भूमिका महत्वपूर्ण छ । त्यसैले आर्थिक विकासको लागि पूँजि बजारलाई स्थायित्व प्रदान गर्नु जरूरी छ । तर नेपालको पूँजि बजार पूर्ण रूपमा विकसित हुन सकिरहेको छैन् । पूँजि बजारमा नीतिगत, भौतीक र प्राविधिक पाटाहरूमा अझै सुधार गर्नुपर्ने छ ।

पछिल्लो समय पूँजि बजारको आकार र आकर्षणमा बृद्धि भएको छ । एउटा सानो कम्पनीको शेयर खुल्दा पनि लगानीकर्ताहरूको थामी नसक्नुको भीड हुने गरेको छ । यसले पनि नेपाली पूँजि बजारको सुन्दर भविष्यलाई प्रतिविम्बीत गर्छ । उर्जा मन्त्रालय सर्बसाधारणबाट पूँजि संकलन गरेर जलविद्युत उत्पादन गर्ने भन्दै अगाडी बढ्ने तयारीमा छ । यो निकै सकारात्मक कुरा हो । तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माको कार्यकालमा आह्वान गरिएको लगानी प्रतिबद्धतामा सर्वसाधारणको उत्साहाजनक चासो देखिएको थियो । यसमा बर्तमान उर्जा मन्त्री बर्षमान पुनको पनि अग्रसरता देखिएको छ ।
भलै अहिलेको अवस्थामा शेयर बजारको ट्रेण्ड घट्दो क्रममा देखिएको छ । तरलता अभाव, अधिक आपूर्ति, कमजोर मनविज्ञान र वाम सरकारको त्रासले गर्दा बजारलाई असर पुगेको अनुमान गर्न सकिन्छ । तर वाम सरकारको शेयर बजार प्रतिको नीति बजारमा देखिएको मनोविज्ञान जस्तो छैन् । उसले लगानी कर्ताहरुलाई बजारको विकासमा लागेको बताइरहेको छ ।
शेयर बजारमा लगानी गर्न चाहाने लगानीकर्ता धेरै छन् तर देशमा शेयर बजारमा लगानी गर्ने आबश्यक वाताबरण नहँुदा उनीहरू चाहेर पनि शेयर बजारमा आबद्ध हुन पाएका छैनन् । महिला, गृहणी, कर्मचारी विद्यार्थी, साना ठुला सबै लगानीकर्ताहरूले आफ्नो क्षमता अनुसारको लगानी गरेर लाभाविन्त भइरहेका छन् । एक त काठमाडांै केन्द्रीत रहेको बजार त्यसमाथी शेयर शिक्षाको अभाव जस्ता कारणले बजारमा चाहेर पनि लगानी गर्न नपाएका लगानिकर्ता धेरै छन् । र बजारमा प्रभावकारी नियमन नहँुदा हल्ला भ्रम र चलखेलले शेयर बजारमा जोखिम बढाएको छ ।

शेयर बजारलाई देशका सबै क्षेत्रको पहँुचमा पुराई जनताको पूँजि परिचालन गर्ने जिम्मा सरकारको हो । सरकार तथा अन्य सरोकारवाला निकाय यस प्रति सचेत हुनु जरूरी छ । शेयर बजारको विकास विस्तार र विविधिकरणको लागि तपशिलका कुराहरुमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।

 शेयर बजार काठमाडांै केन्द्रीत छ, त्यसमा पनि चक्रपथ भित्रको सेरोफेरोमा मात्र । त्यसकारण बजारलाई देश ब्यापी बनाउनको लागि अनलाइन ट्रेडिङ सिस्टममा तत्काल जानुपर्ने देखिन्छ । धितोपत्र बोर्ड र नेप्सेले त्यसको लागि पहल गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन् । तसर्थ दू्रत गतिमा यसमा लाग्नु पर्छ । यसो भयो भने विदेशमा रहेका नेपालीहरूले पनि शेयर बजारमा लगानी गर्ने अवसर प्राप्त गर्नेछन् । जसबाट अहिले बजारमा देखिएको माग र आपूर्तिवीचको तीव्र असन्तुलन सहजै नियन्त्रण हुन्छ ।

 बैंकं तथा वित्तिय संस्थालाई प्रभावकारी नियमन सहित ब्रोकर लाइसेन्स प्रदान गर्नु जरूरी छ । बैंक तथा वित्तिय संस्थाहरूका शाखा कार्यालयहरू देश भरी नै फैलीएको कारणले गर्दा यसबाट शेयर बजारलाई देशभरी विस्तार गर्न सहज हुन्छ । तर यसो भन्दै गर्दा ब्रोकरहरु लाई बाइपास गर्नु चांहि हुदैन् । किनकी देशको शेयर बजार आजसम्मको स्थितिमा आउनुमा शेयर दलालहरूको योगदान ठूलो छ । उपत्यकाबाहिर गएर शाखा विस्तारको निम्ती ब्रोकरहरूलाई पनि अवसर दिनु जरूरी छ । जसले गर्दा प्रतिष्पर्धा हुन्छ र जनताहरूले राम्रो सेवा प्राप्त गर्नेछन् ।

शेयर बजारमा अझैपनि प्राविधिक तथा नीतिगत कुराहरू पूर्ण हुन सकेका छैनन् । बजारमा हुने अनावश्यक चलखेल र सट्टेवाजी प्रवृत्ति अन्त्य गर्नको लागि कडा कानून बनाउनु जरूरी छ । प्रविधि मैत्री बजारमा गलत कुराहरू नियन्त्रण गर्न सहज हुन्छ ।
हाम्रो बजारमा अझैपनि शेयर साक्षारताको कमि छ । बजारको बारेमा ज्ञान नहुँदा पूँजि भएर पनि शेयर बजारमा आउन नचाहने लगानीकर्ता पनि हच्कीनु पर्ने स्थिति छ । बजारमा शेयर परामर्शदाता हरूको ब्यवस्था छैन् । त्यसैले लगानी कर्ताको हितको निम्ती सरकारले आधिकारिक परामर्शदाताको अवधारणाको लागि नीतिगत सहजता प्रदान गर्नु आवश्यक छ । त्यसको लागि अहिलेका शेयर दलालहरूलाई कारोबारसंगै परामर्शदाता (कन्सल्ट्यान्ट) को भूमिका पनि प्रदान गर्न सकिन्छ ।
बजारको विकासको लागि ब्रोकरलाई मात्र उपत्यका बाहिर पठाएर प्रभावकारी हुदैन । जसको लागि धितोपत्र बोर्ड र नेप्सेले पनि कम्तिमा प्रदेश स्तरमा तत्काल शाखा कार्यालयहरु खोलेर पूँजि बजारको विकास ,विस्तार को लागि जनचेतना जगाउने र जनताको पूँजि लाई परिचाल नगर्नको निम्ति शेयर साक्षारता बढाउन उचित हुन्छ ।
अहिले हाम्रो पूँजि बजारको विविधिकरण हुन सकिरहेको छैन् । पूँजि बजारमा बैंक तथा वित्तिय संस्था तथा वीमा क्षेत्रको मात्र ठूलो हिस्सा छ । त्यसकारण यि समूहमा उताव–चढाव आउने वित्तिकै बजार अस्थीर बन्ने गरेको छ । त्यसकारण उत्पादनमूलक क्षेत्र, रियल सेक्टर, मनोरञ्जनका क्षेत्र, एयरलाइन्स, दूरसञ्चारका क्षेत्र हरूलाई पनि पबिल्क्क कम्पनीमा जान प्रेरीत गर्ने नीति बनाउनु आवश्यक छ । यस्ता कम्पनीहरु शेयर बजारमा आए भने बजार परिपक्क बन्नेछ । जसको लागि सरकारले उनीहरूलाई यसतर्फ आकर्षित गर्ने नीति बनाउनु जरूरी छ । निश्चित समयको लागि आयकर छूट दिएर, नेटवर्कको आधारमा प्रिमियम मूल्यमा शेयर जारी गर्न दिएर उनीहरुलाई यसतर्फ आर्कषित गर्न सकिन्छ । राष्ट्रिय वाणिज्य बैंकलाई शेयर बजारमा ल्याउने प्रकृया छिटो छरितो गर्न सकियो भने यसले पूँजि बजारमा सकारात्मक प्रभाव पार्ने छ । एनसेल, चौधरी ग्रुप, हेल्लो नेपाल, अर्घाखाँची सिमेन्ट, बुद्ध एयर, डावर नेपाल, सूर्य नेपाल, चन्द्रागिरी केवल, गोल्छा अर्गनाइजेशन आदी जस्ता कम्पनीहरुलाई पूँजि बजारमा सूचिकृत गर्न सकियो भने पूँजि बजारको दायरा फराकिलो हुनेछ ।
पूँजि बजार सम्बन्धी जानकारी र नेप्सेको अपडेटको लागि कमसेकम पनि देशका ठूला शहरहरूमा ठुला–ठुला डिजिटल डिस्प्लेहरु राख्न सकियो भने यस क्षेत्र प्रति धेरैको ध्यान केन्द्रीत गर्न सकिन्छ । विदेशमा शेयर बजारको जानकारीको लागि यस्ता डिस्प्लेहरु राख्ने प्रचलन छ ।
 बजारको दिगो विकासको लागि मार्केट मेकरहरू बजारमा भित्राउनु आवश्यक छ ।

Published On:  395पटक हेरिएको

तपाईको प्रतिक्रिया