घर भाडा कर : घरधनीलाई मस्ती, सर्वसाधारणलाई सास्ती

काठमाडौं– स्थानीय स्वायक्त शासन ऐन, नगरपालिका संचालन व्यवस्था सम्बन्धी ऐनमा घरबहाल कर तिर्नुपर्ने व्यवस्था पहिलेदेखि नै भए पनि काठमाडौं उपत्यकाका अधिकांश घर धनी अझै घरबहाल करको दायरामा आएका छैनन् । काठमाडौ महानगरपालिका क्षेत्रमा मात्रै दुई लाख ५० हजारभन्दा बढी घरधुरी छन् तर काठमार्डौंमा वास्तविक करदाताको एकिन तथ्याङ्क महानगरसँग छैन । जसको प्रत्यक्ष प्रभाव घरबहाल कर संकलनमा परेको छ । सरकारले लागु गरेको घरबहाल कर नतिर्नेमा साना घर धनीदेखि व्यवसायिक भवनसम्म रहेका छन् । घर भाडामा लगाउनु पूर्व घरधनी र बहालवालाबीच मौखिक समझदारीमा कारोवार हुने हुंदा यो शीर्षकमा कर चुहावट पनि अत्याधिक भइरहेको छ । महानगरपालीका बाट खटिने कर संकलक अधिकारीलाई स्थानीयले बुझाउने सम्पत्ति विवरण समेत वास्तविक नहुने हुंदा घर वहाल कर संकलनमा समस्या परेको हो । तर पनि घर धनीलाई कानूनी दायरामा ल्याउने कानूनको समेत अभाव छ ।

उपत्यकाको घरबहाल कर संकलनको जिम्मेवारी स्थानिय स्वायत्त शासन ऐन अनुसार काठमाडौ महानगरपालीकाको हो । तर आन्तरिक राजस्व विभागले समेत क्षेत्राधिकार बाहिर गएर विभिन्न व्यक्ति तथा फर्मसंग घर बहाल कर लिइरहेको छ । यसले कोही घरधनी घर बहाल करको दायरा मै आएका छैनन् भने कर तिर्नेहरुले दोहोरो कर तिरिरहेका छन् । काठमाडौ उपत्यकामा कति घरधनी छन र तिनको वास्तविक सम्पत्ति र वहालमा लागेको सम्पत्ति के कस्तो हो भन्ने विवरण कतै पनि छैन । व्यवहारत: यो यकिन आंकडा संकलन गर्ने काम महानगरपालीका कै हो । तर महानगरपालीकाका अधिकारीहरु भन्छन्, स्थानीय सरकार गठनपछि पनि राजस्व विभागले कर उठाउन नछाड्दा समस्या परिरहेको छ । महानगरपालीकाले घर बहाल दर नतोकेको र वास्तविक करदाताको पहिचान नगरेको अवस्थामा घर र उठ्नुपर्ने राजस्वको यकिन हिसाब महानगरले समेत राखेको छैन ।

त्यसैले काठमाडौं महानगरपालिकाबाट घरघरमा खटिने अधिकारीले न आयको विवरण संकलन गरेका छन् न बहाल कार संकलन नै प्रभावकारी बनेको छ ।

तपाईको प्रतिक्रिया