काठमाडौं– पछिल्लो समय राजनीतिक बृत्तमा एउटै कुरा चर्चामा छ, त्यो हो बाम एकता । तत्कालीन समयमा नेपाली कांग्रेसँग सत्ता समिकरणमा रहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेको एमालले प्रदेश र प्रतिनिधिसभामा चुनावमा गठबन्धन गर्दै पार्टी एकता घोषणा गरेर सबैलाई चकित पारे । घोषणा अनुसार नै दुबै दलले चुनाव तालमेल गरी चुनावी नतिजा समेत आफ्नो पोल्टामा पारे । स्थायित्व र विकास लागि बाम एकता भनेर प्रचार प्रसार गर्दै राम्रो सन्देश दिएर जनमत समेत आफ्नो पक्षमा पारेका यि दलले अहिले सत्ताको बागडोर सम्हालिसकेका छन् ।
तर प्रदेश र प्रतिनिधिसभाको चुनाव अघि घोषणा गरेको पार्टी एकता भने विस्तारै शिथिलता तिर गएको छ । दुबै दलले आन्तरिक कारण भन्दै पार्टी एकतालाई ठोस विन्दुमा पुर्याउन सकेका छैनन् । अझ पछिल्लो समय त पार्टी कार्यकर्ता र जनमानसमा बाम एकता हुने हो या नहुने हो भन्ने आशंका पैदा भएको छ । बाम गठबन्धनमा आवद्ध दलको यो सन्दर्भलाई राजनीतिक विश्लेषकहरूले सत्ता स्वार्थ र व्यक्तिको चाहना पूरा गर्ने खेलको रूपमा ब्याख्या गरेका छन् । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला र केसी पछिल्लो समय संकेतहरूले पार्टी एकता नहुने कुरालाई जोड दिइएको बताउँछन् ।
राजनीति विश्लेषकहरूले बाम गठबन्धनमा पछिल्लो समय देखिएको असमझदारी लम्बिरहे पार्टी एकता केवल घोषणामा मात्र सिमित हुने आंकलन गरेका छन् । हुन पनि पछिल्लो समय बाम गठबन्धनमा आवद्ध दलवीच पार्टी एकताको विषयमा ठोस प्रगति हुन सकेको छैन । सरकार गठन अघि नै पार्टी एकताको घोषणा गरेका बाम गठबन्धनमा आबद्ध दलले सरकार गठनको तीन महिनासम्म पनि पार्टी एकता नगर्नुले सत्ता र स्वार्थ प्राप्ती एकतालाई आवश्यक नठानेको विश्लेषकहरूको आरोप छ ।