विराट कोहलीको एकेडेमीका प्रशिक्षकको अण्डर नाइन्टिन बन्द प्रशिक्षण सम्पन्न

काठमाडौं–नेक्सस् क्रिकेट एकेडेमी पेप्सीकोलाको आयोजनामा काठमाडौँमा सञ्चालन गरिएको १५ दिने विशेष क्रिकेट प्रशिक्षण आजबाट सम्पन्न भएको छ । भारतीय क्रिकेटर विराट कोहलीको क्रिकेट एकेडेमी वेष्ट दिल्लीका कोच सत्यपाल यादवले बन्द प्रशिक्षण सञ्चालन गर्नुभएको हो । प्रशिक्षण समापनको अवसरमा आज एकेडेमीले पेप्सीकोलमा गरेको कार्यक्रममा यादवले नेपालको क्रिकेटमा सबै उमेर समूहका खेलाडी उत्पादनका लागि यस्ता क्रिकेट प्रशिक्षणले सहज हुने बताउनुभयो । नेपाली खेलाडीहरु मेहेनती भएको बताउँदै उहाँले नेपाली क्रिकेटको भविष्ट उज्ज्वल रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा क्रिकेट एशोसिएशन नेपाल क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेले असल खेलाडी जन्माउन प्रशिक्षण सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।  नेपाली राष्ट्रिय टिमका ओपनर अनिल शाहले आफूले पनि यादवसँग प्रशिक्षण लिएको स्पष्ट पार्दै यादवले सम्झनलायक प्रशिक्षण दिनुभएको स्पष्ट पार्नुभयो । बन्द प्रशिक्षणमा देशभरका ५८ जना सहभागी थिए । क्याम्पमा सहभागीमध्येका २८ जनाबाट १५ जना छनौट गरी श्रीलंका खेल्न पठाइने नेक्सस् क्रिकेट एकेडेमीका प्रशिक्षक विजय शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया