काठमाडौं– नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्र पनि सहभागी हुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास दिलाएका हुन् । उनले भने,‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा सहभागी हुन्छ।’ उनले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चााडै घोषणा हुने जिकिर गरे । उनले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले भने,‘वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बाउनको लागि दत्तचित्त भएर काम गर्छु।’ तपाई त गृहमन्त्रालयको जिम्मेवारी दिए मुलुकमा अपराध जिरोमा झार्छु भन्नुहुन्थ्यो तर तपाईलाई अर्के मन्त्रालयको जिम्मेवारी दिइएकोमा कत्तिको सन्तुष्टि हुनुहुन्छ ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘यो प्रधानमन्त्रीय प्रणाली हो, कुनै बेला पनि जिम्मेवारी हेरफेर हुन्छ, मैले असन्तुष्टि किन राख्ने ? म त अझै धेरै सन्तुष्टि हुनेगरि काम गर्छु, जनताको हितमा काम गर्छु । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको प्रमुख नीति तथा कार्यक्रमहरु विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने पनि जानकारी दिए । उनले भने,‘हाम्रो चाहना छ, सम्पूर्ण नेपालीहरु सुखी हुनुपर्छ, खुशी हुनुपर्छ, त्यसैको लागि हामी काम गर्छौं ।’