काठमाडौं– सर्वोच्च अदालतले नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको छ । सिलवालले सरकारी कागज किर्ते गरेको सम्बन्धमा परेको मुद्दामा अदालतले हालै तयार पारेको फैसलाको पूर्ण पाठमा तत्कालिन प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा बढुवाका सन्दर्भमा पेस गरेको कार्य सम्पादन मुल्याङ्कन फारममा अंक फरक पारेको विषयमा अनुसन्धान गरी त्यस्तो फरक कार्य सम्पादन मुल्याङ्कन र पेस गर्ने विरुद्ध कारवाही चलाउन नेपाल सरकारका नाममा आदेश दिएको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जना न्यायाधीशको बृहत पूर्ण इजलासले हालै तयार पारेको फैसलाको पूर्णपाठमा उक्त आदेश दिइएको हो। जसमा न्यायाधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मिरा खड्का, प्रकाश मानसिंह राउत, र पुरुषोत्तम भण्डारी उक्त पूर्ण इजलाशमा सहभागी थिए ।