विक्रम सम्वत २०३७ साल असोज १४ गते काठमाडौंको सिनामंगलमा जन्मनुभएका रामकुमार श्रेष्ठले लामो समय कराते खेल र यसको विकासमा व्यतित गर्नुभयो । काठमाडौंको सिनामङ्गलमा सिनामङ्गल क्योकुसिन कराते डो उपशाखा स्थापना गरी १३ बर्ष यो शाखा हाकेका कराते खेलाडी श्रेष्ठले थुप्रै क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कराते खेलमा सहभागिता जनाएर विभिन्न उपाधि समेत हात पार्नु भएको छ ।
हाल जर्मनीको म्यूनिच शहरमा बस्दै आउनुभएका श्रेष्ठले स्थापना गरेको सिनामङ्गल क्योकुसिन कराते डो उपशाखा अहिलेपनि निरन्तर चलिरहेको छ । यो शाखालाई अहिले नेपालकी सेल्फ डिफेन्सकी एक मात्र महिला कराते प्रशिक्षक सुन्जु महर्जनले हाक्दै आउनुभएको छ । कराते खेलमा निकै चासो राख्ने श्रेष्ठले तत्कालीन समयमा विद्यालय स्तरमा कराते खेलको विकास गर्न दिनरात नभनी लाग्नुभएको थियो । श्रेष्ठ अहिले खेल जीवनमा सक्रिय नभएपनि करातेको खेलको विकासमा सक्रिय रहँदै आउनुभएको छ । सिनामङ्गल क्योकुसिन कराते डो शाखाका संरक्षक समेत रहनुभएका श्रेष्ठ अहिले पनि कुनै न कुनै माध्यमबाट कराते खेलको विकासमा लागि रहनुभएको छ । श्रेष्ठले गुरू जगतप्रसाद गौचनबाट करातेको तालिम लिनुभएको थियो । त्यस्तै, श्रेष्ठले नेपालमा करातेका विभिन्न प्रतिष्प्रधामा पुरस्कारहरूको समेत प्रायोजन गर्दै आउनुभएको छ ।
आफ्नो खेलजीवनमा निकै उत्तार चढाव भोगेका श्रेष्ठसँग यस खेलभित्र रहेका अवसर, चूनौती र समस्यालाई यस अन्तवार्ताबाट केलाउने कोसिस गरेका छौं । नेपाल परिक्रममा संवाददाताले श्रेष्ठसँग गरेको कुराकानीको केही अंश :
– कराते खेलमा कसरी प्रवेश गर्नुभएको थियो ?
मलाई बच्चादेखि नै कराते खेलमा विशेष चासो थियो । त्यति बेला कराते खेलको राम्रो विकास भइनसकेको अवस्थामा पनि म कराते खेलप्रति आर्कषित थिए । मेरो कराते खेलप्रतिको चाहनाले नै मलाई कराते खेलमा लाग्न प्रेरित गरेको थियो ।
– तत्कालीन समयमा कराते खेलको विकासमा कसरी लाग्नुभयो ?
यस खेलप्रतिको मेरो रूचिले गर्दा मैले सानै उमेरमा क्योकुसिन करातेको शाखा सिनामङ्गलमा स्थापना गरे । त्यसपछि मैले यस शाखामा आफ्ना साथीभाईलाई आबद्ध गर्दै नेपालमा कराते खेलको विकास हुनुपर्छ भनेर काम सहित निरन्तर वकालत गर्दै गए । म लगायतका मेरो टिमका साथीहरू त्यसबेला कराते सम्बन्धी विभिन्न खेलमा सहभागी भयौ । आज भन्दा २० बर्ष पहिलाको त्यो अवधिमा कराते खेलको खासै विकास भएको थिएन । हामीले कराते खेलको विकास हुनुपर्छ भनेर स्कुल स्तरसम्म पनि पहल गर्यौ ।
–कराते खेलको सन्र्दभमा पहिला र अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ?
पहिला अहिलेको कुरा गर्ने हो भने कराते खेलमा पहिला भन्दा अहिले धेरै विकास भएको छ । त्यतिबेला कराते खेलको विकासको शुरूवाती अवस्था थियो तर अहिले कराते खेलको केही विकास भइसकेको छ । अहिले स्कुल स्कुलमा कराते खेलको विकास भइसकेको छ । अझ शहरमा रहेका अधिकांश विद्यालयहरूले कराते खेललाई अनिवार्य बनाइ सकेका छन् । तर हिजाको दिनमा कराते खेल जो कोहीको लागि त्यति सहज थिएन । तर अहिले क्षेत्रिय राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न प्रतियोगिताहरू हुने गरेका छन् । त्यस्ता प्रतियोगीताहरूमा नेपालले पनि सहभागिता जनाउने गरेको छ । अहिले कराते खेलको अवधारणा पहिला भन्दा ब्यापक भएर गएको मैले पाएको छु ।
– नेपालमा कराते खेलको विकासक्रमलाई कसरी हेर्नुभएको छ ?
मैले अघि पनि भनिसके नेपालमा अहिले कराते खेलको विकास हुँदै गएको छ । तर राज्य स्तरबाट हैन, विभिन्न व्यक्तिहरूको व्यक्तिगत पहल र सक्रियतामा कराते खेलको विकास भएको मैले पाएको छ । नेपालमा कराते खेलको मात्र हैन कुनैपनि खेलको विकास राम्रोसँग हुन सकेको छैन । न त नेपालमा खेलकूदका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार नै बन्न सकेका छन् न त नेपालमा कुनै पनि खेलको खेलाडी बाच्न सक्ने स्थिति छ । राज्यले नै खेलाडीलाई वेवस्था गर्दै आएको मैले पाएको छु । अझ कराते खेललाई त राज्यले झनै ब्यवास्ता गर्दै आएको छ । करातेसँग सम्बन्धित संघसंस्थाहरू छन् ति पनि आफ्नै निहीत स्वार्थ पूरा गर्न खुले जस्ता । तर यति हुँदा हुँदा पनि कराते खेलको सच्चा विकास गनुपर्छ भनेर लागेका व्यक्ति संस्थाबाट यो खेलको विकासमा ठूलो टेवा पुगेको छ ।
– अन्त्यमा कराँते खेलको अझै विकास गर्न के गनुपर्ला ?
सर्वप्रथम कुनैपनि खेलको विकासमा सरकार नै लाग्नुपर्छ । सरकारले खेलको महत्व बुझ्न जरूरी छ । कुनैपनि खेल आफ्नो राष्ट्रलाई विश्वसामू चिनाउने एउटा माध्यम पनि पनि हो । सरकारले खेलकूद क्षेत्रको विकास गर्न चाहे त्यसलाई कसैले रोक्न सक्दैन । कुनैपनि खेलको विकासका लागि ब्यक्ति र संघ संस्थाका प्रयास मात्र प्रर्याप्त हुदैनन् । यसर्थ सरकारले खेलकूद क्षेत्रको विकासमा चासो दिनुपर्छ । अझ कराते जो कोहीलाई स्वस्थ र तन्दुरूस्त बनाइराख्न सक्ने खेल भएकाले यसको अझ धेरै महत्व छ । यसकारण यो खेलको विकास लागि सरकारले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने देखिन्छ । कुनैपनि खेलको खेलाडी राष्ट्रको गहना भएकाले खेलाडी संरक्षण सरकाले नै चासो दिनुपर्छ भन्ने मलाई लाग्छ ।
धन्यवाद–