काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)का महाप्रबन्धक गंगा तिमल्सिनाले कर्मचारी स्थायी गर्दा अनियमितता गरेको भन्दै कर्मचारीहरु अन्दोलित भएका छन् । संस्थानले शनिबार प्रकाशन गरेको नतिजामा संस्थान भित्रका कर्मचारी नपरेको भन्दै कर्मचारीले दूध उत्पादन कार्य नै ठप्प पारेर आन्दोलन गरेका हुन् ।
संस्थानले डेरी सहायकमा १९ जनाको नाम शनिवार प्रकाशन गरेको थियो । त्यसमध्ये पाँचजना मात्र संस्थानभित्रका कर्मचारी परेको र बाँकी संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाका आफन्त रहेको कर्मचारीको आरोप छ ।
डेरी सहायकका लागि माग गरेको कर्मचारीका लागि संस्थानभित्रका ४१ जनाले फर्म भरेका थिए । तर, त्यसमध्ये पाँचजनाको नाम निस्किएको छ । १० वर्षदेखि संस्थानमा काम गर्दै आएकी सरस्वती जोशीले संस्थानका महाप्रबन्धकले आफन्त, आसेपासे तथा नेताका मान्छेलाई मात्र उत्तीर्ण गराएको आरोप लगाइन् ।
कर्मचारीको विरोधकै कारण आज दुध उत्पादनका कुनै काम भएनन् । डिडिसीको विहानी सिफ्टमा मात्र ६५ हजार दुधको प्याकेट उत्पादन हुन्छ, त्यो सबै काम ठप्प भएको छ । गतसाल पनि यस्तै विज्ञापन गरिएकोमा स्थायी भएका १९ जना कर्मचारीमध्ये संस्थानभित्रका एकजना मात्र परेका थिए । अस्थायी, करार तथा ज्यालादारीमा रहेका कर्मचारीलाई स्थायी नगरेसम्म आन्दोलन नरोकिने उनीहरुले चेतावनी दिएका छन् ।