निर्वाचन समिक्षाका लागि माओवादी केन्द्रले बैठक बोलायो

काठमाडौं–नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको समिक्षा गर्न आगामी साउन २ गते पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समिक्षा गर्न आगामी साउन २ गते पार्टी सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो । निर्वाचनको समिक्षा गर्न पार्टी जिल्ला इन्जार्चहरुसहितको सहभागितामा सचिवालयको बैठक बोलाउने निर्णय गरिएको पार्टीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकमा नेताहरुले संगठनात्मक अस्तव्यस्तता कारण पनि पार्टीले अपेक्षा गरे अनुसार स्थानीय तह दोस्रो चरणको निर्वाचनको परिणाम आउन नसकेको बताएका थिए ।

माओवादी केन्द्रले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नल्याएपनि स्थानीय तह निर्वाचनमा पार्टीको एजेन्डाको जीत भएको दावी भने गर्दै आएको छ । माओवादी केन्द्रले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनतामा लैजान नसक्दा पनि दोस्रो चरणको निर्वाचनमा अपेक्षा गरे अनुसार जीत हासिल गर्न नसकेको पनि जनाएको छ ।

 

तपाईको प्रतिक्रिया