ओली थापावीच भेटवार्ता

काठमाडौं– संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सकारात्मक देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न आफूहरु सकारात्मक रहेको बताउनु भएको हो ।

मङ्गलबार सिंहदरबारस्थित एमाले संसदीय दलको बैठकमा भएको भेटमा उहाँले एमाले अध्यक्ष ओलीसँग सिमांकन बाहेकका विषयलाई मात्रै समेटिएर ल्याएको संविधान संशोधन प्रस्ताव मान्नैपर्ने नैतिक बन्धनमा आफूहरु रहेको पनि स्मरण गराउनु भएको थियो । यता, एमाले अध्यक्ष ओलीले भने सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढ्ने विषयमा विचार गर्न अध्यक्ष थापासँग आग्रह गर्नु भएको थियो । एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्ने विषयमा विचार गर्न अध्यक्ष थापासँग आग्रह गरिएको बताउनु भयो । उहाँले सबै तहको निर्वाचन सम्पन्न गर्ने कार्यमा केन्द्रित हुने गरी छलफल गरिएको पनि स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया