काठमाडौं–६ वटा मधेशकेन्द्रती दलहरू एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टीले आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलनको तयारी गरिरहँदा मधेशबाट नै प्रतिनिधित्व गर्ने दुई दलहरू भने चुनावी तयारीमा होमिएका छन् । कुनै बेला मधेश आन्दोलनको नेतृत्व गरेको हालको संघीय समाजवादी फोरम र मधेशी जनअधिकार फोरम लोकतान्त्रिक चुनावी तयारीमा छन् ।
संविधानमा आफ्नो असन्तुष्टी कायमै रहेपनि जनताले चुनाव चाहेकाले जनचाहना पूरा गर्न र संविधानका उपलब्धि संस्थागत गर्नपनि चुनावमा सहभागी भएको यी दुई दलका नेताहरूको भनाइ छ । केही समय अघिसम्म मात्र पनि संघीय समाजवादी फोरम संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध रहँदै संविधान शंसोधन लागि दबाब दिदै आएको थियो । तर अहिले भने यो दल मधेशी मोर्चामा रहेका दलहरूबाट अलग भइसकेको छ । हुन त मधेश केन्द्रीत ६ वटा राजनीतिक दलवीच पार्टी एकता भएपछि अहिले मधेशवादी दलहरूको मोर्चा समेत विघटन भइसकेको छ ।
त्यस्तै चुनावमा भाग लिने अर्को मधेशकेन्द्रीत दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिक भने विगतदेखि नै संविधान कार्यान्वयनको पक्षमा रहँदै आएको छ । यो दलले विगतदेखि नै सरकारमा सहभागी हुँदै सरकारलाई साथ दिदै आएको छ । संघीय समाजवादी फोरम र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेताहरूले मधेशका सवालमा राष्ट्रिय जनता पार्टी नेपालले उठाएका माग एउटै भएपनि यहि विषललाई चुनाव बहिष्कार गर्न गर्न नहुने बताउँछन् । यो चुनाव बहिष्कार गरे सबैभन्दा बढि घाटा राजपालाई नै हुने र यथोचित तरिकाले मधेशका माग समेत सम्बोधन नहुने चुनाव भाग लिएका दुई मधेश केन्द्रीत दलका नेताको भनाइ छ ।