कहिल्यै हटेन काठमाडौमा धूलो हिलोको समस्या, गैर जिम्मेवार सरकारी निकाय

काठमाडौं–काठमाडौं उपत्यकामा सर्वसाधारणले धूलो र हिलोको चरम सास्ती झेलेको झण्डै पाँच बर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम शुरू भएको थियो । सडक छेउका मापदण्ड विपरित बनाइएका घर तथा टहरा भत्काई बाटो विस्तार गर्ने योजना अनुरूप थालिएको सडक विस्तार अहिले पनि जारी छ ।

सडक विस्तारको योजना समयमै पूरा नहुँदा काठमाडौंवासीले बर्षौदेखि धूलो र हिलोको सास्ती झल्दै आएका छन् । अहिले काठमाडौंको कोटेश्वरदेखि कलङ्कीसम्म, चक्रपथ क्षेत्र,  त्रिपुरेश्र, सन्तुगल, थानकोट, चावाहिल बौद्ध लगायतका स्थानहरूमा सडक विस्तारको काम भइरहेको छ । सर्वसाधारणले पाइरहेको सास्तीलाई कम गर्न नसक्नु सरकार र सम्बन्धित निकायकै कमजोरी भएको सर्वसाधारण बताउँछन् ।

सडक विस्तारको काम त छदै छ बर्षौ लगाएर विस्तारको काम सकिएका सडकमा फेरी मेलम्ची खानेपानी आयोजनाले पाइप विछ्याउन भत्काइदा सर्वसाधारणको सास्तीका कमी आउन सकेको छैन । सर्वसाधारणको यो समस्यासँग प्रत्यक्ष सरोकार राख्ने निकाय भनेको काठमाडौं महानगरपलिका हो । तर अहिलेसम्म यो निकायले काठमाडौंको धूलो हिलो नियन्त्रण गरी महानगरलाई व्यवस्थित बनाउन सकेको छैन ।

काठमाडौं महानगरपालिकामा भरखरै निर्वाचित जनप्रतिनिधि पनि आएका छन् । निर्वाचित जनप्रतिनिधिले काठमाडौं महानगरपालिकालाई क्लिन सिटी बनाउने दाबि त गरेका छन् तर सडक विस्तारको काममा नेपाल सरकार विभिन्न निकायको संलग्नता भएकाले काठमाडौं महानगरपालिकाले चाहेर मात्रै सुधार भइहाल्ने स्थिति पनि छैन । काठमाडौं महानगरपालिकालाई क्लिन सिटी बनाउने योजना काठमाडौंका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यको हो तर काठमाडौं महानगरपालिका नै यो योजनाबारे स्पष्ट छैन ।

तपाईको प्रतिक्रिया