काठमाडौंमा मेयर पदका उम्मेद्वारका आ–आफ्नै दाबि

काठमाडौं–स्थानीय तहको चुनावको दिन नजिकिदै गर्दा काठमाडौं महानरपालिकाका मेयर पदका प्रत्याशी पनि आ–आफ्नै तयारी र व्यस्ततामा छन् । उनीहरू अहिले आफ्ना एजेण्डा लिएर जनतासँगको घर दैलो कार्यक्रमा व्यस्त छन् । काठमाडौं उपत्यकामा मुख्य तीन दलवीच चुनावी प्रतिष्प्रधा छ । काठमाडौंमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रवीच मेयर पदका लागि मुख्य प्रतिष्प्रधा हुने देखिन्छ । संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने एमालेसँग चुनावी तालमेल गरेको छ ।

जसअनुसार एमालेलाई मेयर पदमा राप्रपाले सघाउने र उपमेयरमा एमालले राप्रपालाई सघाउने सहमति छ । काठमाडौंका मेयर पदका उम्मेद्वारहरूका चुनावी एजेण्डा लगभग उस्तै उस्तै देखिन्छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका राजुराज जोशीले काठमडौंलाई धूलो धुवाँ मुक्त बनाउने, ट्राफिक जाम हटाउने पार्किङको व्यवस्था मिलाउने, सहर व्यवस्थित गर्ने एजेण्डा अघि सार्नुभएको छ । त्यस्तै एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार रहेका विद्यासुन्दर शाक्य एजेण्डा पनि लगभग समान नै छन् ।

अन्य दलका मेयर पदका प्रत्याशीले अव्यवस्थित रूपमा रहेको काठमाडौंलाई व्यवस्थित गर्ने, काठमाडौलाई ग्रिन सिटीको अवधारणामा विकास गर्ने लगायतका एजेण्डा अगाडि बढाएका छन् । काठमाडौंका मेयर पदका उम्मेद्वारहरूले संम्पदा संरक्षण, कला संस्कृतिको जर्गेना, पर्यटनको विकास लगायतका एजेण्डालाई अघि सारेका छन् । आउँदो ३१ गते पहिलो चरणको स्थानीयतहको चुनाव हुदै छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय निकायको चुनाव हुदैछ । प्रदेश नम्बर ३ मा पर्ने र  सबै कुराको दृष्टिकोणले महत्वपूर्ण मानिएको काठमाडौं महानगरपालिकामा पनि आउँदो ३१ गते नै स्थानीय तहको चुनाव हुदै छ ।

तपाईको प्रतिक्रिया