दिवाकर पाठक – युवा तिनै हुन् जसले समाज र राष्ट्रका लागि नवीन संकल्प लिन्छन् । कार्यक्षेत्रमा खरो उत्रन्छन् । र, सफलताको शिखर चुमिछाड्छन् । अरूलाई दोष लगाउनुभन्दा आफ्नै जोश र होशमा रम्छन् । स्वयंसँग रहेको खुबी र प्रतिभालाई चिनाउँछन् युवाले । हामी पनि त केही गर्न सक्छौं भनेर भोजपुर नेपालका दुई युवा विश्वयात्रामा निस्किएका छन् ।
नाम हो– नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ । उनीहरू सहोदर दाजुभाई होइनन्, १३ दिने हुन् । अहिले उनीहरू पौवादुङ्मा गाउँपालिका वडा नं. २ र ३ का नागरिक भएका छन् । पहिले च्याङ्ग्रे र तिवारीभञ्ज्याङ्ग गाविसका थिए । गाउँमै भएको श्रीमद्भागवत सप्ताहदेखि घनिष्ठ भएका उनीहरूलाई धेरैले ‘नान’ (नारायण र नवराज) जोडी भनेर चिन्दछन् । बोलाउँदछन् । जोडी नै किन भनिएको हो भने उनीहरू रगत, भावना र सहकार्यमा समेत घनिष्ठ एवं आत्मिय साथी हुन् । जानी÷नजानी उनीहरू गाउँछन्, नाच्छन् । गीत, गजल, कविता लेख्छन् । हालसम्म यात्रा गरेका ठाउँका बारेमा त बृहत् यात्रा संस्मरण र वृत्तचित्र समेत निकालेका छन् । ‘चिनौँ आफूलाई, बुझौँ आ–आफ्ना राष्ट्रलाई र जगाऔँ विश्वलाई’ उनीहरूको विश्वयात्राको मूल सन्देश हो । यही सन्देशको सार्थकता सिद्ध गर्न उनीहरूले सर्वप्रथम स्वदेश भ्रमणकै लागि पाइला सार्ने संकल्प गरे । भोजपुरका विद्यालयमा पढ्दा उनीहरूले नेपालमा ७५ जिल्ला छन् भनेर सुनेका थिए । उच्च शिक्षाका लागि जिल्लाबाट राजधानी काठमाडौं भित्रिएपछि विभिन्न व्यक्तित्वको संगत गर्न पाए । डा. योगी विकाशानन्दको रेडियो प्रवचन, विभिन्न सेमिनार र सान्निध्यमा बसेपछि त जीवनमा मर्नुअघि केही गर्नैपर्छ भन्ने अठोट जागृत भयो उनीहरूमा । त्यहीबेला योगी विकाशानन्दबाट कोऽहम् र सोऽहम् नाम पाए । यी दुवै वैदिक मन्त्र हुन् ।
एउटा प्रश्न, अर्को उत्तर । कोऽहम् अर्थात् ‘म को हुँ’ ? सोऽहम् अर्थात् ‘तिमी आफैंभित्र रहेको परमात्मालाई चिन’ । विश्व साइकलयात्री पुष्कर शाहका अलावा विश्वविख्यात महापुरूषहरूको जीवनी उनीहरूले पढे । कुनै न कुनै कालखण्डमा लामो यात्रा गरेर नयाँ सोच, दर्शन, चिन्तन र विचारधाराका प्रतिपादक बनेका महापुरूषबारे केही बुझेपछि त उनीहरूलाई यात्रा गर्नैपर्छ भन्ने भयो । कसैले पनि महान् काम पर्याप्त नोटबाट होइन, सबल र प्रबल अठोटबाट गरेका रहेछन् भन्ने थाहा पाए । यसैलाई मूलमन्त्र बनाए । परिणामतः साथमा ३५० रूपैंयाँ लिएर २०६५ कार्तिक २ गते ‘प्रेस स्वतन्त्रता एवं सकारात्मक पत्रकारिता’को नारासहित भोजपुरको दिङ्लाबाट उनीहरूको स्वदेश यात्रा प्रारम्भ भयो । त्यतिबेला उनीहरू ललितपुरबाट प्रकाशित मनोक्रान्ति साप्ताहिकमा आबद्ध थिए । दिङ्ला त्यही ठाउँ हो, जहाँ बालागुरु षडानन्दले जनस्तरमा सर्वप्रथम वि.सं. १९३२ मा संस्कृत पाठशालाको स्थापना गरी देश÷विदेशका विद्यार्थीलाई पढाएका थिए । यसरी सुरु भएको उनीहरूको स्वदेश यात्रा २०६७ कार्तिक १ गतेसम्म निरन्तर चलिरह्यो । दशैं, तिहारमा समेत उनीहरू घर फर्केनन् ।
जहाँ पुगे त्यहीं मनाए । ७३० दिने उक्त यात्रालाई उनीहरूले शब्द र तस्बीरमा कैद गरे, ‘नेपाल भ्रमणका ७३० दिन’ पुस्तकमा । र बनाए पूरै नेपाल समेटेको ९८ मिनेटको वृत्तचित्र ‘नेपाल दर्शन’ । भ्रमणका आश्चर्य नेपाल घुम्नुअघि उनीहरूलाई लागेको थियो– नेपालमा ७५ जिल्लामा भोजपुर जिल्ला पनि चिनिएको छ । तर यात्रामा निस्किएपछि भोजपुर भन्ने जिल्ला पनि नेपालमा छ र भन्ने सम्मका जिज्ञासा उनीहरूलाई आए । त्यो पनि उच्च शिक्षा हासिल गर्दै गरेका व्यक्तिबाट । उनीहरूलाई यस्तो जिज्ञासा ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीबाट आएको थियो । त्यस्तै डडेलधुराको एक एफ.एम. ले अन्र्तवार्ताकै क्रममा उनीहरूलाई भनेछ– हामी त सबै जाति, वर्ग, धर्म, सम्प्रदायका श्रोतालाई उत्तिकै सम्मान गर्छौं, अवसर दिन्छौं । त्यसैले तपाईंहरूको पनि आफ्ना श्रोतालाई केही भन्नुछ होला ।
भोजपुरको मान्छे पर्नुभयो, आफ्नै भोजपुरी भाषामै भन्न सक्नुहुन्छ । यस्तो सुनेर उनीहरू तीनछक्क परे । किनकि पूर्वी पहाडी जिल्ला भोजपुरमा भोजपुरी भाषा नै बोलिदैन । त्यहाँ त विशेषगरी नेपाली र राई भाषा बोलिन्छ । यही भनेछन् उनीहरूले अन्र्तवार्तामा । यस्ता प्रसंगबाट उनीहरूलाई लाग्यो– स्वयं नेपालीले नेपाल चिनेका छैनौं, बुझेका छैनौं भने विश्वलाई कसरी चिन्ने ? यस्ता अनुभव उनीहरूमा धेरै छन् । त्यसैका लागि उनीहरूले उक्त किताब र डी.भी.डी. निकालेका हुन् । नेपालको भ्रमणपश्चात् उनीहरूले भारतका २८ राज्य र ३ केन्द्रशासित प्रदेश साथै भूटान र म्यानमार देश समेत भ्रमण गरिसकेका छन् । पूर्वीय दर्शन, सभ्यता र संस्कृतिको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन निस्केका उनीहरूलाई यो यात्रामा पनि आश्चर्य मिश्रित थुप्रै अनुभव भएका छन् । गोवाका पत्रकारहरूले अन्र्तक्रियामा उनीहरूलाई सोधेछन्– ‘नेपाल जान भिसा कसरी पाइन्छ ?’ पत्रकारहरूबाटै यस्तो प्रश्न सुनेर उनीहरू छक्क परे । भने– सन् १९५० को शान्ति तथा मैत्री सन्धिअनुसार नेपाल भारत आउन÷जान दुवै देशका नागरिकहरूलाई भिसाको कुनै आवश्यकता पर्दैन । यस्तो जवाफ सुनेर पत्रकारहरू आश्चर्यमा मात्र परेनन्, भोलिपल्ट त्यहाँका अखबारहरूले भारतीयहरूका लागि भिसामुक्त देश नेपाल भनेर प्राथमिकताका साथ समाचार प्रकाशित गरेछन् । ‘गोमन्तक’ दैनिकले त यसमाथि ‘बक्स न्यूज’ नै बनाएछ । तब उनीहरूलाई लाग्यो– नेपाल राम्रोसँग भारतमै त चिनिएको छैन भने बाँकी विश्वमा झन् के चिनिएको होला ! चिनिदो हो त यस्तो जिज्ञासा आउने नै थिएन । यसबारे नेपाल सरकार र दिल्ली दूतावासले नेपाल घुम्न भिसा लाग्दैन भन्ने जानकारी भारतभर प्रचार गर्ने हो भने दक्षिण भारतीय र खासगरी करोडौं हिन्दू धर्मावलम्बीले गर्ने नेपाल भ्रमणले देशको पर्यटन उद्योगमा ठूलो टेवा पुग्न सक्छ । भारतमा उनीहरूले यस्ता धेरै अनुभव गरेका छन् । सम्प्रदायले धर्ममा ल्याएको विकृति आफैँले भोगेका छन् । आश्रमबाटै राती निकालिएका छन् । नेपालप्रति भारतको हेपाहा र चेपाहा व्यवहारबाट दुःखित भएका छन् ।
भूटानका नेपालीभाषीको अवस्था देख्दा उनीहरूलाई झन् दुःख लाग्यो । कारण त्यहाँ उनीहरूलाई स्वतन्त्रता अद्यापि छैन । बाहिरी देशबाट गएका पाहुनाहरूसँग खुलेर उनीहरू बोल्न चाहदैनन् । चाहना नभएर होइन सरकारी निकायलाई स्पष्टीकरण दिनुपर्छ भन्ने डरले हो । भूटानमा यस्तो अवस्था देखेका उनीहरू म्यानमारको टमु पुग्दा भने खुशी भएका छन् । किनकि त्यहाँ उनीहरूले नेपाली संस्कृति खासगरी तीजको भव्य कार्यक्रममा स्वागत र सम्मान पाए । यी र यस्ता धेरै अनुभव जान्न चाहनेका लागि उनीहरूले ‘देखेको विश्व र नेपाल’ पुस्तक अनि त्रि–देश दर्शन वृत्तचित्र निकालेका छन् । आफूले आफैँलाई नचिनिरहेको सन्दर्भमा स्वयंलाई चिन्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले ‘विश्व–दृष्टि’ पुस्तक समेत प्रकाशन गरेका छन् । नेपाल भ्रमण पश्चात् उनीहरूको अगुवाईमा विश्व दर्शन अभियान, नेपाल संस्था स्थापना भएको थियो ।
सोही संस्थामार्फत् उनीहरूले विविध गतिविधि अगाडि बढाइरहेका छन् । काभ्रेका उत्तम मोक्तानलाई योग म्याराथनमा विश्व रेकर्ड राख्न संस्थाका तर्फबाट उनीहरूको संयोजन सफल भयो । २०७२ मा गएको भूकम्पले पीडित भएकालाई उनीहरूले न्याना कपडा बाँडे । सकेको सहयोग पनि गरे । राष्ट्रपति कार्यालय, विभिन्न विद्यालय तथा संघसंस्थामा आफ्ना विविध अनुभव उनीहरूले बाँडिरहेका छन् । सिँगो संस्था नै सामाजिक कार्यमा लागेको छ । र, उनीहरूचाहिं पाठकलाई यिनै कार्य र कोशेली छोडेर अब चाँडै विश्वको थप यात्रामा निस्कदै छन् ।