काठमाडौं–सर्वसाधारणको सुविधाको लागि भन्दै काठमाडौं महानगरपालिकाले २०६९ साल भदौ १ गतेबाट रात्रिकालिन बस सेवा शुरू गर्यो । स्थानीय विकास मन्त्रालयको ३० लाख रूपैयाँ र काठमाडौं महानगरपालिको १५ लाख रूपैयाँ सहयोगमा रात्रि बस सञ्चालनमा आएको थियो । काठमाडौं महानगरपालिका र नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघवीच शुरूको ६ महिना काठमाडौं महानगरपालिकाको सहयोग र पछि व्यवसायी आफैले चलाउने सहमति भई रात्रि कालिन बस सेवा शुरू भएको थियो । तर यो सेवा शुरू भएको नौ महिनामै बन्द हुन पुग्यो । तामझाम र ठूलै हल्लाका साथ सुरु भएको बस सेवा केही महिनामै बन्द हुनुको एक मात्र कारण भनेको काठमाडौं महानगरपालिकाले दिएको ४५ लाख रुपैयाँ सकिनु हो । त्यसपछि यस विषयमा जिम्मेवार निकाय काठमाडौं महानगरपालिकाले चासो दिन सकेन ।
हरेक दिन साँझ सात आठ बजेपछि सार्वजनिक सवारीका साधन चल्न बन्द हुन्छन्, त्यसपछि सर्वसाधारणलाई आफ्नो गन्तब्यमा पुग्न महँगो पैसा तिरेर कि त ट्याक्सीको प्रयोग गर्नुपर्छ कि त कष्टकर यात्रा । सर्वसाधारणको हितसँग जोडिएको सेवा बन्द हुनु सम्बन्धित निकायको गैर जिम्मेवारी भएको सर्वसाधारण बताउँछन् । यो सेवा बन्द भएपछि अवेर साँझ वा रातिको समयमा उपत्यका बाहिरबाट काठमाडौं भित्रिने र उपत्यकाभित्र साँझ अबेरसम्म काम गर्ने यात्रु ट्याक्सी चालकको मनोमानी भाडा तिर्न बाध्य छन् । रात्रि बसको विषयमा हामीले सोधखोज गरेपछि काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख इश्वरीराज पौडेलले सबै कुरा अध्ययन गरेर अबको दुई महिना भित्र रात्रि बस सञ्चालनमा ल्याउने गरी प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
तत्कालीन समयमा काठमाडौंका अधिकांश ठाउँमा रात्रि बसले सेवा दिइरहेका थिए । जसबाट सर्वसाधारणले राहत समेत पाइरहेका थिए । आम सर्वसाधारणको सुविधासँग जोडिएको सवालमा व्यवासायीको फाइदा हेरेर सर्वसाधरणलाई मारमा पार्नु किमार्थ सही काम होइन ।