नेपालीलाई खुसीको खबर, आर्थिक बृद्धि २७ बर्षकै उच्च

काठमाडौं– चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ६.९४ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बृद्धिका सबै सूचाङ्कमा उत्साहजकम प्रगति भएको हो । खासगरी चालु आर्थिक बर्षमा मौसम अनुकूल भई कृषि उत्पादन बढ्नु, विद्युत कटौती कम हुँदा औधोगिक उत्पादन बढ्नु जस्ता कारणले आर्थिक बृद्धिमा सहयोग पुगेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक इश्वरीप्रसाद भण्डारीले बताउनुभयो । चालू आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा यस्तो अनुमान गरिएको हो । चालू आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्र कृषिको योगदान ३० प्रतिशत, द्वितीयक उत्पादनको योगदान १४ प्रतिशत र सेवा क्षेत्रको योगदान ५६ प्रतिशत छ ।

आर्थिक बृद्धिको यो आँकलन २७ बर्ष यताकै उच्च हो । तर अर्थ विश्लेषकहरूले भने यो बृद्धिलाई पाहुना शैलीको बृद्धि भएको यसलाई कायम राख्न सरकारले ठूलै मेहनत गनुपर्ने बताउँछन् । चालू आर्थिक बर्षमा प्राथमिक क्षेत्रको वृद्धिदर ५ दशमलव ३२ प्रतिशत रहने अनुमान तथ्यांक विभागको छ । कृषि वाहेक व्यवसायीकरणमा उल्लेख्य प्रगति हुदै गएको, पुनर्निर्माणका लागि वन पैदावरका सामाग्री उत्पादनमा बृद्धि भएको तथा खानी तथा उत्खनन् क्षेत्रको उत्पादन बृद्धि जस्ता कारणहरुले यस क्षेत्रको उत्पादनमा निकै बृद्धि भएको तथ्याङ्क विभागले जनाएको छ ।

त्यस्तै, उत्पादनमूलक क्षेत्र समेटिने द्वितीयक क्षेत्रको मूल्य अभिवृद्धिदर उत्साहजनक हुने समेत विभागको तथ्यांकमा उल्लेख छ । अर्थतन्त्रमा १४ प्रतिशत योगदान दिएको यो क्षेत्रको वृद्धिदर १०.९७ प्रतिशत हुने प्रारम्भिक अनुमान विभागले गरेको छ । प्रशोधनमूलक उद्योगको वृद्धि ९ दशमलव ७ प्रतिशत रहने अनुमान विभागको छ । अघिल्लो वर्ष उद्योगको वृद्धि ८ प्रतिशतले नकारात्मक रहेको थियो । थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात संचार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेटसेवा क्षेत्रको वृद्धिदर ६ दशमलव ९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

तपाईको प्रतिक्रिया