काठमाडौं– तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाा मुआब्जा भएको छ । यस अघि १५ करोड ६८ लाख मुआब्जा बितरण गरिएकोमा बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैयाँ वितरण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजनाका अनुसार डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा फलफूल तथा रुखविरुवाको क्षतिपूर्ति रकम बितरण गरिएको हो ।
१४० मेगावाटका क्षमताको आयोजनाले डुवान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनबाट मुआब्जा बितरण सुरु गरेको थियो । सरकारले चालु आर्थिक वर्ष ०७३/७४ मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसमध्ये विहीबारसम्ममा २१ करोड १० लाख रुपैयाँ वितरण गरिएको हो । जलशायबाट डुवान क्षेत्रमा पर्ने करिव एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । यसका लागि करिब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आयोजनाको बाँध बनेपछि बन्ने जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुवानमा पर्ने छन् ।