सिराहा– सिरहाको धनगढीमाई नगरपालिका ६ मा ६५ वर्षिया कुसमादेवी यादवलाई बोक्सीको आरोपमा कुटपिट भएको छ । स्थानीय शिव कुमार यादव, विजय यादव र आशाराम दासले कुशमा देवी यादव र उनका पति अशेश्वर यादवलाई लाठी र खुकुरी प्रहार गरि घाईते बनाएको उनीहरुले बताएका छन् ।
यादव उपर कुटपिट हुन थालेपछि उनका पति ७५ वर्षिय अशेश्वर यादवले बचाउन खोज्दा उनीमाथि पनि कुटपिट भएको हो । चैत ३१ गते विहानै आफनै घरमा वसिरहेको अवस्थामा शिव कुमार यादवको समूहले आफ्नी छोरी किरण कुमारी यादवलाई बोक्सी लगाएको भन्दै कुसमामाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट कुसमादेवीको दाहिने हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । भैंसी दुहिरहेका अशेश्वर यादवले पत्नीलाई कुटिरहेको देखेर नकुट्न भन्दा नाक र हातमा खुकुरीले प्रहार गरि घाईते बनाएका थिए । पति, पत्नी दुवैजना घाईते भएर वेहोस भएपछि गााउलेहरुले लहान स्थित लिला मदन अस्पतालमा पुर्याएका थिए । कुटपिटमा संलग्न शिव कुमार यादव, विजय यादव र आशाराम दासलाई ईलाका प्रहरी कार्यालय लाहानले नियन्त्रणमा लिएको छ ।