काठमाडौं– विशेष अदालतले नेपाल विद्युत् प्राधिकरणको चर्चित ट्रान्सफर्मर घोटाला काण्डमा प्राधिकरण तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारीलाई दोषी ठहर गरेको छ । अख्तियारले करिब दुई वर्ष लगाएर गरेको अनुसन्धानमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकद्वय रामेश्वर यादव र जिवेन्द्र झाको प्रत्यक्ष संलग्नतामा कमसल ट्रान्सफर्मर खरिद भएको पाइएको थियो । यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जनालाई पनि दोषी ठहर गरिएको छ ।
विशेषले दोषी ठेकिएकाबाट ४६ करोड ३० लाख रुपैयाा बढी जरिवानास्वरुप असुल्न भनेको छ । भारत, चीन र थाइल्यान्डबाट ल्याइएका ट्रान्सफर्मर धमाधम पड्कन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा कमगुणस्तरका ट्रान्सफर्मर ल्याएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले सम्बन्धित निकायका अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको थियो । अनुसन्धानमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकद्वय रामेश्वर यादव र जिवेन्द्र झाको प्रत्यक्ष संलग्नतामा कमसल ट्रान्सफर्मर खरिद भएको पाइएको थियो । ट्रान्सफर्मर खरिदमा अनियमितता पाइएपछि अख्तियारले प्राधिकरणका कर्मचारी र सप्लायर्स कम्पनीका गरी ६० जनाविरुद्ध २०७० भदौ ९ र २८ गते चार थान मुद्दा विेशष अदालतमा दर्ता गरेको थियो ।
विशेष अदालतले तत्कालीन कार्यकारी निर्देशक यादवलाई एक लाख ३५ हजार रुपैयाा जरिवाना, ३ वर्ष ५ महिना कैद सजाय र अर्का कार्यकारी निर्देशक झालाई ८० हजार रुपैयाँ जरिवाना र १ वर्ष २ महिना कैद हुने फैसला सुनाएको छ । न्यायाधीश मोहनरमण भट्टराई, नरेन्द्रकुमार शिवाकोटी र महेशकुमार पुडासैनीको इजलासले यो फैसला सुनाएको हो । विशेषले कार्यकारी निर्देशक यादवलाई पहिलो मुद्दामा १ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाा जरिवाना, दोस्रो मुद्दामा ४ महिना कैद र १५ हजार रुपैयाा जरिवाना, तेस्रो मुद्दामा ७ महिना कैद र ३० हजार रुपैयाा जरिवाना र चौथो मुद्दामा १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । अर्का कार्यकारी निर्देशक झालाई पहिलो मुद्दामा ६ महिना कैद र २५ हजार रुपैयाा जरिवाना, दोस्रो मुद्दामा ४ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना, तेस्रो मुद्दामा ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यसैगरी विशेषको इजलासले प्राधिकरणका कर्मचारी युगलकिशोर साहलाई ९५ हजार रुपैयाँ जरिवाना र एक वर्ष सात महिना कैद, कैलाशप्रसाद अटललाई ३० हजार रुपैयाँ जरिवाना र ८ महिना कैद र चिरञ्जीवी शर्मा पौडेललाई ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको छ । विशेषले ट्रान्सफर्मर सप्लाई गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जनालाई दोषी ठहर गरेको छ ।
दोषी ठहर भएका लि दाओ जिउलाई २१ करोड ४५ लाख दुई हजार तीन सय ७४ रुपैयाा जरिवाना, हु झेङ जिङलाई २ वर्ष हु जी क्युलाई एक वर्ष कैद फैसला सुनाएको छ । विशेषवाट दोषी ठहर हुने अन्य विदेशीमा ह्यु योङ एक वर्ष कैद र ५ करोड ८७ लाख ७९ हजार ६ सय तीन रुपैयाँ जरिवाना र ओउ याङलाई ५ करोड ८७ लाख ७९ हजार ६ सय ३ रुपैयाा जरिवाना हुने फैसला सुनाइएको छ । थाइल्यानडबाट ट्रान्सफर्मर सप्लाइ गर्ने प्रेपाटलाई पनि दोषी ठहर गर्दै विशेषले १२ करोड ९८ लाख ४१ हजार ९ सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । ट्रान्सफर्मर खरिद भ्रष्टाचारमा संलग्नलाई १० वर्षसम्म कैद सजाय मागसहित अख्तियारले मुद्दा दायर गरेको थियो । तत्कालीन कार्यकारी निर्देशक यादवलाई अख्तियारले पक्राउ गरी मुद्दा अनुसनधान अघि बढाएको थियो ।
पछि विशेषले धरौटीमा रिहा गरेको थियो । अख्तियारले प्राधिकरणका १९ र आपूर्तिकर्ता ठेकेदार कम्पनीका तीनसहित २२ विरुद्ध पहिलो मुद्दा दर्ता गरेको थियो । माथिल्ला पदका कर्मचारीसहित थप कर्मचारीलाई जोडेर अख्तियारले अन्य तीन थान मुद्दा विशेषमा दर्ता गराएको थियो । अख्तियारले भ्रष्टाचार अभियोगमा भ्रष्टाचार गरेको रकम बराबरको जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने दाबी गरेको थियो । १ मंसिर २०६६ मा ट्रान्सफर्मर खरिद सम्झौता गर्दा मापदण्डविपरीत हुने गरी बोलपत्र स्वीकृत गरिएको तथा आपूर्तिकर्ताले कबोल गरेको तौलभन्दा आधा क्षमताका ट्रान्सफर्मरहरू मात्र प्राविधिक रूपमा मेल खाने देखिएबाट बदनियतपूर्वक कम तौल र साइजको तामाको तार प्रयोग गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा दाबी गरिएको थियो । आर्थिक वर्ष २०६६ र ६७ मा सहवान्त इलेक्ट्रिक कम्पनी थाइल्यान्डमार्फत १ हजार ५ सय ६७ थान ट्रान्सर्फमर खरिद गर्दा सो रकम बराबर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।