काठमाडौं– चन्द्रागिरि–शैक्षिक सत्र २०७३ को माध्यामिकशिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ ( रु. ३०० /–) मा केबलकार चढ्न पाउने भएका छन् । यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही चैत मसान्तसम्मका लागि मात्र ल्याएको हो ।
यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिनुपर्नेछ । कम्पनीले छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुने जानकारी गराउनुको साथै यो छुट सुविधा लिने परीक्षार्थीहरुले अन्य छुट नपाउने जनाएको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेकोछ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।