पोखरा । कञ्चनपुरको आन्नद नगरमा भएको भारतीय हस्तक्षेपको विरोधमा पोखराका स्वतन्त्र युवाहरुले विरोध र्याली निकालेका छन् । विभिन्न पेशामा आवद्ध युवाहरुले स्वतस्फुर्त रुपमा निकालेको र्यालीले भारतीय हस्तक्षेपका विरूद्ध लेखेका पर्चा र प्ले कार्ड सहित शहरका मुख्य चोकहरु चिप्लेढुङ्गा, महेन्द्रपुल, मानवअधिकार चोकको परिक्रमा गरेको थियो ।
कार्यक्रममा युवाहरुले “ब्याकअफ इन्डिया” “सरकार सीमामा पर्खाल लगाऊ म एक महिना स्वयम सेवा गर्न तयार छु”, “सिमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर, खुला सीमाना बन्द गर” “चाए झुकोस निलो आकाश यो नेपाली झुक्दैन्” “शहिद गोबिन्द गौतम अमर रहुन” जस्ता नारा लेखिएका प्ले कार्डहरु प्रर्दशन गरेका थिए ।
र्यालीपछि भएको कोण सभालाई सम्बोधन गर्दै विरोध कार्यक्रमका संयोजक तथा सामुदायिक तथा महिला विकास सेवा नेपालका अध्यक्ष चिरञ्जीवी गौतमले आफ्नै छिमेकी देशको नागरीकमाथि गोली चलाएर भारतले मित्रताको खिल्ली उडाएको बताउनुभयो । अध्यक्ष गौतमले भारतले निरन्तर यस्तै हस्तक्षेप गर्दै गए सुगौली सन्धीको खारेजीको लागि सारा नेपाली उत्रिने बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै पृथ्वीनारायण क्याम्पसका प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाले आफू बलियो छु भन्ने आडमा भारतले नेपालको सार्वभौम स्वतन्त्रता माथि प्रहार गरेको बताउनुभयो । उहाँले नेपाल भारतवीचको सीमा विवादको दीर्घकालीन समाधान खोज्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । सराङ्गकोटका युवा समाजसेवी बलराम तिमिल्सिनाले सञ्चालन गर्नुभएको कोणसभामा संयौको युवाहरूको उपस्थिति रहेको थियो ।