काठमाडौ–हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले छैठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७३ कोे आयोजना गरिएको छ । करातेको अखिल नेपाल खेलकुद महासंघका कार्यवाहक अध्यक्ष अर्जुन बहादुर के.सी. तथा विद्यालयका संस्थापक जेबी हमालले कार्यक्रमको उद्घाटन संयुक्त रुपमा गर्नु भएको थियो । विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्घिक क्षमताको विकास गराउनका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरिएको विद्यालयले जनाएको छ । गोजु–काइ कराते प्रतियोगिताको यस श्रृंखला अन्तर्गत उपत्यकाका २५ वटा विद्यालयका खेलाडी विद्यार्थीहरूले भाग लिएका छन् ।
प्रतियोगिता यही फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा १९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । साथै समग्रमा प्रथम, द्वितीय र तृतीय हुने टिमले ट्रफी चुम्नेछन् भने उत्कृष्ट पुरुष र महिला खेलाडीले समेत ट्रफी प्राप्त गर्नेछन् ।
आजको प्रतिस्पर्धामा पुरुषतर्फको २० केजी तौल समुहमा नेसनल युनाइटेडका संगम तामाङ्ग, चिल्ड्रेन्स मोडेलका विशाल तामाङ्ग र नवज्ञानभूमिका दिपेश थापा, २५ केजी तौल समुहमा नेसनल युनाइटेडका अनिश अमात्य र रोहन महर्जन तथा अनमोल ज्योतिका सुशान्त खड्का, ३० केजी तौल समुहमा नेसनल युनाइटेडका प्रतीक श्रेष्ठ, जगतमन्दिरका निरज उप्रेती, नेसनल डोजोका रोहन बराम र गणेश डोजोका नयन मगर, ३५ केजी तौल समुहमा विनायक स्कुलका युवराज मगर, लुम्बिनी बिगिनर्सका रसिक पौड्याल, गणेश डोजोका दिनम खड्का र मित्रपार्क डोजोका सजित श्रेष्ठ तथा ४० केजी तौल समुहमा नेसनल युनाइटेडका जोनिस श्रेष्ठ र सुशान्त केसी, अनमोल ज्योतिका ईश्वर बस्नेत र बाल नमुनाका रोहित भुषाल सेफिाइनलमा प्रवेश गर्न सफल भएका छन ।
त्यसैगरी सोही प्रतिस्पर्धामा महिलातर्फको २० केजी तौल समुहमा नेसनल युनाइटेडकी स्मृती लामा र नवज्ञानभूमीकी सुस्मिता लामा, ४५ केजी तौल समुहमा नेसनल युनाइटेडकी सुस्मिता राई, चिल्ड्रेन्स मोडेलकी सिमा घर्ती र संगिता तामाङ्ग, तथा गोल्डेन पिककी युनिसा राई तथा ५० केजी तौल समुहमा चिल्ड्रेन्स मोडेलकी थोप्तेन डिकी लामा र बाल कुमारी थामी तथा अनमोल ज्योतिकी पुष्पा श्रीष सेफिाइनलमा प्रवेश गर्न सफल भएका छन ।