विवेश श्रेष्ठ, ओखलढुंगा- साहुको भारी बोक्न सोलुको नाम्चेसम्म पुग्थे श्रीचौर ६ का लिलाबहादुर तामाङ । सोलु मात्रै हैन रामेछापतिर पनि भारी बोक्न धेरै पटक पुगे उनी । १५/१६ जनाको ठूलो परिवार । त्यसमाथि आफ्नो नाममा भएको जग्गा जमिन कम । भएको जग्गामा उत्पादन भएको अन्नपातले परिवार पाल्न धौ धौ भएपछि साहूको भारी बोक्न जानुको विकल्प थिएन । तर अहिले त्यस्तो अबस्था छैन । उनीहरु अहिले गाउका साहू बन्दैछन् । त्यो पनि गाउँमा नै सडक खन्ने मजदुरी काम गरेर ।
गउँमा काम गर्दा खाना र खाजा खाएर २ सय ५० देखी ३ सय सम्म दिन्थे पुरुषलाई ज्याला । महिलालाई चाही सय मात्रै । साहूको भारी बोक्न जादा बरु अलिक केही कमाई हुन्थ्यो । परिवारका केही सदस्यले भारी बोकेर कमाएको केही पैसा र गाउँमा ज्याला मजदुरी गरेर कमाएको पैसाले परिवार पाल्नु पर्ने बाध्यता थियो । त्यती हुँदा पनि नपुगेर चाड पर्वमा गाउँका साहूहरुसँग ऋण काढेर चाड पर्व मनाउनु पथ्र्यो ।
तीनवर्ष अगाडी गाउँमा स्थानीय सडक सुधार कार्यक्रम सुरु भयो । त्यस कार्यक्रममा कुनै पनि ठूला मेशिनरी सामाग्री प्रयोग नगरी हातैले सडक खन्नु पथ्र्यो । त्यसैवेला गाउँका केही बुझ्ने जान्नेहरुले गाउँमा नै सडक खन्ने काम गर्दा गाउको विकास पनि हुने र पैसा पनि कमाई हुने वताए ।
जिल्ला बाहिर गएर दु:खका साथ काम गर्दा त खासै पैसा कमाउन सकिएन, सडक खन्ने काम वाट कति न कमाई होला र भन्ने थियो । त्यै पनि आफ्नो परिवारका ११ जना सदस्य एकै पटकमा रामपुर–प्राप्चा–श्रीचौर सडक खन्ने काममा लागि परे । काम गर्दै जादा उनीहरुले पहिलो वर्षमा नै ९लाख कमाए । अहिले तामाङको परिवार तेश्रो वर्षमा काम गरिरहेका छन् । तीन बहिनीको विवाह भएपछि अहिले ८ जनाले सडक खन्ने काम गरिरहेका छन् ।
तामाङले चार महिना अघि मात्रै २६ लाख तिरेर ट्याक्टर किने हल्याण्ड कम्पनीको । अहिले ट्याक्टरले पनि मासिक ३/४ लाख कमाउन थालेको छ । तामाङको परिवारमा अहिले खुशी छाएको छ । तामाङ भन्छन् “हामीले त नसोचे कै कमायौ । काममा मिहेनत गरेर सबै खट्यौ । अहिले सम्म त २० लाख भन्दा बढि नै कमाएछौं । कमाई राम्रै भयो ।”
त्यस्तै श्रीचौर १ की मिश्रीमाया विकको परिवारमा पनि खाना लाउन धौ धौ थियो । आफ्नो परिवारको नाममा जग्गा जमिन कमै छ । घरमा साना साना ३ ओटा बच्चाहरु छन् । बारीमा फलेको अन्नले खान लाउन पुग्दैन थियो । श्रीमान्ले कर्मीकाम गरेर ल्याएको भरमा दुईछाक टार्नु पथ्र्यो । बच्चाहरुलाई पढाउनै पऱ्यो । तिनीहरुको आवश्यकतालाई पनि हेर्नै पर्यो । परिवार चलाउन श्रीमान्को कमाईले मात्रै नपुगेपछि गााउका साहूहरुसँग ऋण काढ्नु पथ्र्यो । ऋण झण्डै १लाख नाघेको थियो ।
श्रीमान् गाउँमा कमाई गरेकोले पुगेन भनेर विदेश तिर पनि जाने योजना बनाउदै हुनुहन्थ्यो । तर जब गाउँमै रोड खन्ने काम आयो । मिश्रीमाया रोड खन्न तिर लागिन् । भुकम्प पछाडि घर बनाउन मिस्त्रीको काम गर्दा श्रीमान्को ज्याला पनि बढ्यो । आफू पनि सडक खन्न लागिन् । “गाउँमा अन्यत्र काम गर्दा महिलालाई १ सय ५० भन्दा बढि ज्याला दिँदैन थिए । रोड खन्दा दिनको केही बसेन भनेपनि ४ सय ५० भन्दा बढि नै बसेको छ ।” मिश्रीमाया भन्छिन्, “मैले रोड खन्न थालेपछि र श्रीमान्ले कमाएको केही पैसावाट घर परिवार चलाउन त सहज भयो नै । हामीले ऋण पनि तिरी सक्यौं । अहिले त्यही कमाईको पैसा केही सहकारीमा जम्मा गरेका छौ । २ लाख जति गाउँमा नै ऋण पनि लगाएका छौ । छोराछोरीलाई पढाउन पनि सहज भएको छ ।”
श्रीचौर १ कै मेनुका वि.क.को अबस्था मिश्रीमायाको भन्दा झनै कमजोर थियो । सासूले आाखा देख्दिनन् । ससुरा वितिहाले । आफुहरुले नपढे पनि छोराछोरीले पढुन् भन्ने लाग्थ्यो । स्कुलको पढाईले मात्रै भएन, ट्युसन पढ्नु पर्यो भनेर बच्चाहरु कचकच गर्थे । स्कूल पठाउन त समस्या भै रहेको बेला ट्युशन पढाउन कहाावाट ऋण काढेर ल्याउनु ? समस्या नै थियो मेनुकालाई ।
गाउँमा नै सडक खन्ने काम आएपछि मेनुका पनि त्यतै लागिन, साथमा उनका श्रीमान् पनि । उनीहरुले ३ लाखभन्दा बढी कमाए । घर पनि बनाए । यसपाली उनकी छोरीले एस एल सी दिदैछिन् । ट्युशन पढाउन समस्या छैन । घर खर्च धान्न सजिलो भएको छ । मेनुका भन्छिन्,“सडकमा काम गरेर कमाएको पैसाले १ तोलाको सुनको गहना पनि लाए । गाउँमा नै सडक आउने भएपछि एकातिर हामीलाई सुबिधा भयो । अर्का तिर गाउँमा नै रोजगारी पाइयो ।” उनी मात्रै हैन, हिजो गरिव भनेर नपत्याईएका र अहिले सडकमा काम गरेर कमाएका गरिब तथा विपन्न परिवारको सामाजिक प्रतिष्ठा बढेको छ ।
यी माथि उल्लेखित पात्रहरु रोड पुगेको स्थानमा काम गर्ने स्थानियका केही प्रतिनिधी मात्रै हुन् । अहिले रामपुर देखी प्राप्चा, श्रीचौर हुदै खिजीफलाटेसम्म जोड्न सडक खन्ने काममा १ हजार भन्दा बढीले रोजगारी पाएका छन् । उनीहरुले ५० समूह निर्माण गरि काम गरिरहेका छन् । स्वीस सरकार विकास सहयोग नियोग र नेपाल सरकारको साझेदारीमा सञ्चालन भैरहेको कार्यक्रम अन्तर्गत सडक खन्ने काम लगाईएको हो । रामपुर देखी श्रीचौर मंगलबारे सम्मको २१ किलोमिटर सडक खन्न स्थानीय र छिमेकी गाविसका उपभोक्ता काममा लगाईएका हुन् । स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत हातले नै सडक खन्ने काममा उनीहरुले रोजगारी पाएका हुन् ।
सडक खन्ने कामको प्रमुख जिल्ला अधिकारी बालकृष्ण दाहाल, स्थानीय विकास अधिकारी यज्ञ बहादुर खत्री सहितको टोलीले अनुगमन समेत गरेको छ । सडक खन्ने कामको अनुगमनका क्रममा १८वर्ष नपुगेका बालबालिकाहरुको पनि प्रयोग भएको पाईएको छ । बालबालिकाहरुले आफ्नो परिवारमा अन्य आम्दानीको श्रोत पनि नभएको र पढ्नका लागि खर्चको अभाव हुँदा खर्च जुटाउनका लागि काममा आएको बताएका छन् ।
सडक खन्दै गरेकी बालिकाले नाम नबताउने भन्दै भनिन्, “तपाई पत्रकार रैछ, नाम चाही नभनिदिनुस् । सरकारी स्कूलको पढाई त्यस्तै हो । ट्युशन पढ्न घरवाट बुबाआमाले खर्च दिनुभएन । अनि एस एल सी पनि पास गर्न सकिएन । त्यसैले म पनि काममा आए । सानै उमेरमा काम हैन पढाई भन्ने थाहा हुँदाहुँदै पनि बाध्यताले आएँ । कम्तीमा मैले पढाई यही विट मारे पनि भाइ बहिनीलाई त सजिलो हुन्छ ।”
सडक खन्ने काममा बालबालिकाको प्रयोग भएको पाईए पछि त्यसवारेमा ध्यान दिन र बालबालिकालाई प्रयोग नगर्न जिल्ला प्राबिधिक कार्यालयका प्रमुख विजयमणी बज्राचार्यले फिल्डका कर्मचारीलाई निर्देशन दिए ।
तीन आर्थिक वर्षमा हाल सम्म सडक खन्नका लागि ओखलढुंगामा ६ लाख श्रमदिन रोजगारी सिर्जना भएको स्थानीय सडक सुधार कार्यक्रम ओखलढुंगाका जिल्ला संयोजक महेश बस्नेतले जानकारी दिए । ६ लाख श्रमदिन मध्ये २ लाख २८ हजार श्रमदिन चाही महिलाहरुले रोजगारी पाएका छन् ।