ज्येष्ठ नागरिक ग्राम उद्घाटनका लागि महायज्ञ

टीकादास श्रेष्ठ, काठमाडौं । सरस्वतीनगर, चाबहीलस्थित जे.पी. प्रतिष्ठान (मैत्रीसेवाश्रम) ले नेपालमा पहिलो पटक नविनतम सोच र अवधारणा अनुरूप ज्येष्ठ नागरिकका लागि काठमाडौ जिल्लाको शंखरापुर नगरपालिका वडानं. ४ लप्सेफेदीमा सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत पहिलो चरणमा निर्माण गरिएका ३० वटा भवन तथा कुटीहरूको उद्घाटन गर्ने उद्देश्यसहित फागुन ३ गतेबाट सुरु गरिएको ‘मातापिता भक्ति भूमि पुजन गीता ज्ञानमहायज्ञ’ को आयोजना गरेको छ । सो ज्येष्ठ नागरिक ग्रामको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ भने महायज्ञ अवधिभर सबै भवन तथा अन्य निर्मित संरचनाको समेत उद्घाटन गर्ने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
ज्येष्ठ नागरिक ग्रामको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सार्वजनिक निजी साझेदारीमा निर्माण भएको ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने कार्यले लोककल्याणकारी राज्यको अवधारणामा थप सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले यस्ता संस्थाले निरन्तरता पाउनका लागि संस्था आत्मनिर्भर भयो भने मात्र संस्थाले निरन्तर रूपमा सेवा प्रवाह गर्न सकिनेतर्फ लक्षित गर्नुहुँदै संस्थालाई आत्मनिर्भर बनाउन संस्था सञ्चालकहरूमा उदार भावना हुनुका साथै संस्थाले प्रवाह गर्ने दायित्व प्रभावकारी, व्यवहारिक, मितव्ययी र पारदर्शी कार्यप्रणालीका आधारमा अबलम्बन गरिनुपर्नेमा जोड दिनुभयो ।
‘लोक कल्याणकारी राज्यको भावनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका तर्फबाट यस्ता संस्थाहरूलाई मार्गदर्शन, नियमन, अनुगमन र प्रोत्साहन गर्न बाञ्छनीय हुन्छ ।’

राष्ट्रपति भण्डारीले भन्नुभयो –‘सेवा नै धर्म हो भन्दै लोक कल्याणकारी समाजको निर्माणमा सहयोग गर्ने नेपाली परम्परा यस सेवाश्रममा प्रतिबिम्बित हुनु खुशीको कुरा हो । यसबाट समाज सेवामा हात बढाउने अन्य सहयोगी हातहरूलाई अग्रसर गर्न थप प्रेरणा मिल्ने विश्वास मैले लिएकी छु ।’
उहाँले जे.पी. प्रतिष्ठान मैत्रीसेवाश्रमले ज्येष्ठ नागरिकहरूको बाँकी जीवन सुख, शान्त, सृजनशील आनन्दमय बनाउन आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुहुँदै उनीहरूले सँगालेका ज्ञान सीप र अनुवलाई भावी पुस्तामा हस्तान्तरण गर्न बौद्धिक सम्पत्तिको प्रफुष्ठन गर्ने वातावरण प्रदान गर्न संस्थासँग ठोस योजना हुनुपर्ने बताउनुभयो । भण्डारीले प्रतिष्ठानको रमणीयता प्रति संकेत गर्नुहुँदै प्राकृतिमैत्री बासस्थान र प्राकृतिक आहारबिहारको माध्यमबाट ज्येष्ठ नागरिकका मौलिक सृजना र अनुभवलाई संस्थागत गर्न सकिने धारणा राख्नुभयो ।

ज्येष्ठ नागरिक ग्राम निर्माण भएको क्षेत्र प्राकृतिक, सांस्कृतिक र पर्यटकीय रूपले धेरै महत्वपूर्ण रहेको र यहाँका पार्टी पौवा, बनजंगल, मठ मन्दिर र नदि जस्ता सम्पदाले शुसोभित रहेको तर्फ लक्षित गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो पवित्र क्षेत्रमा सञ्चालन हुने ज्येष्ठ नागरिक ग्राम सञ्चालनमा आउँदा यसको सानिध्यताबाट ज्येष्ठ नागरिकहरूलाई आनन्दित तुल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका यस क्षेत्रका ऐतिहासिक धरोहर र निजी संरचनाको पुननिर्माणका कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले प्रतिष्ठानद्वारा निर्मित भवनहरू नेपाली संस्कृति र सोचमा आधरित भएको र यसले डाडा पाखाको शोभा बढाएकोतर्फ इंकित गर्नुहुँदै अब यसरी नै देशका विभिन्न क्षेत्रमा ज्येष्ठ नागरिकका लागि हावापानी र माटो सुहाउँदो ज्येष्ठ नागरिकमैत्री ग्रामहरू निर्माण गर्न भूमिका खे    ल्नुपर्ने बताउनुभयो । भण्डारीले सहरीकरणले बिग्रदै गएको सन्दर्भ उल्लेख गर्नुहँुदै ध्वस्त संरचनाको पुननिर्माण पर्यावरणमैत्री हुनुको साथै स्थानीय सीप र कलालाई समेत जोड दिन सुझाउनुभयो ।
सो अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खडकाले ज्येष्ठ नागरिकह्ररुको उत्तरार्धको जीवन सम्मानजनक र सुविधाजनक हुनुपर्नेमा जोड दिनुहुँदै जे.पी. प्रतिष्ठानले सुरु गरेको सशुल्क ज्येष्ठ नागरिक ग्रामको आवश्यकता सरकारले पनि महशुस गरी त्यसका निमित्त कानून निर्माण हुँदै गरेको बताउनुभयो । मन्त्री खडकाले आफूलाई दु:ख कष्ट सहेर सक्षम बनाउने मातापितालाई घरबाट निकालेर बेग्लै बृद्धाश्रमको परिकल्पना गर्नु सभ्य समाजको लागि अनुकूल समाधान हो जस्तो आफूलाई नलागेको बताउनुहुँदै सम्भव भएसम्म आफ्ना जन्मदातालाई घरमै राखेर उचित लालनपालन गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले परिवार, समाज र राष्ट्रका लागि आफ्नो जीवन समर्पित गरिसकेका ज्येष्ठ नागरिकहरूका ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अर्को आर्थिक वर्षको वजेटमा ७ वटै प्रदेशमा ४९० वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने योजना मन्त्रालयले बनाएको बताउनुभयो ।

नेपालका सबै ज्येष्ठ नागरिकहरूलाई ज्येष्ठ नागरिक हेरचाह केन्द्र वा दिवा सेवाको आवश्यकता रहेको बताउनुहुँदै मन्त्री खडकाले भन्नुभयो –‘१० पास गर्‍यो हलो छोड्यो, १२ पास गर्‍यो थलो छोड्यो’ भन्ने युवा मानसिकताका कारण पढेका र हुर्केका युवायुवतीहरू घरमा हलो, कुटो कोदालो गरेर नबसी विदेश पलायन भएको स्थिति छ । यो स्थितिका बीचमा घरमा भएका ज्येष्ठ नागरिकलाई बैंकमा भएको मौज्दात र लालपुर्जामा भएको जमिनले तातो पानी तताएर खुवाउन सक्दैन । विरामी भएको बखत अस्पताल पुर्‍याउन सक्दैन । यी समस्यालाई मध्यनजर गरेर  राज्यले सशुल्क ज्येष्ठ नागरिक हेरचाह केन्द्रको परिकल्पना गरेको छ । जे.पी.प्रतिष्ठानले पनि त्यहीँ बाटो अबलम्बन गरेको देख्दा हामीलाई योजना बनाउन सजिलो भएको छ ।’

उहाँले बाबु आमाको सम्पत्ति छोराछोरीले माग्ने अधिकार कानूनले दिनु तर बाबुआमाले छोराछोरीले कमाएको सम्पत्ति माग्ने अधिकार कानूनले नदिने व्यवस्थालाई विभेदकारी व्यवस्था भन्न आफूलाई कुनै संकोच नभएको बताउनुहुँदै उहाँले छोराछोरीलाई सम्पत्ति दिएको भोलिपल्ट बृद्धाश्रम खोज्दै हिँड्नुपर्ने ज्येष्ठ नागरिकको अवस्थालाई कानूनी रूपमा रोक्नका लागि सबै सम्पत्ति छोरा बुहारी वा छोरीलाई दिन नपाउने कानून निर्माण गर्न ज्येष्ठ नागरिक ऐन संशोधन गर्न गइरहेको बताउनुभयो । साथै उहाँले सरकारी ढिकुटीबाट तलब खाने सरकारी कर्मचारीको १० प्रतिशत आम्दानी अनिवार्य रूपमा बाबुआमाको खातामा स्वत: हस्तान्तरण हुने गरी अब ‘ज्येष्ठ नागरिक जन्मदाता कोष’ स्थापना गरिने जानकारी बताउनुहुँदै अब बा आमालाई दया मायाँ भन्दा पनि ज्ञान, सीप र अनुभवको संरक्षण गर्दै स्वाभिमानपूर्वक आफ्नो अधिकार प्राप्त गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राख्नुभयो ।
उद्घाटन कार्यक्रमको दोस्रो चरणमा प्रतिष्ठानले लप्सेफेदी आसपासका ७५ वर्ष उमेर पार गरेका सय जना ज्येष्ठ नागरिकलाई रु एक हाजार नगद, दोसल्ला तथा सम्मानपत्रबाट सम्मानित गरेको थियो । दोस्रो कार्यक्रमको आतिथ्यता ग्रहण गर्नुभएका पूर्व अर्थमन्त्री शंकर कोइराला, मृगेन्द्र गुठीका संस्थापक मृगेन्द्रराज पाण्डे, भौतिक योजना तथा पुर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौला, वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी पुरुषोत्तम दाहाल, बरिष्ठ अर्थबिद तथा धितो पत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की, सासद दीपक कुइँकेल लगायतले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका थिए ।
पहिलो चरणको कार्यक्रममा राष्ट्रपति भण्डारीले गणेशमान सिंह कुटीको उद्घाटन गर्नुभएको थियो भने दोस्रो चरणको कार्यक्रममा पूर्व अर्थमन्त्री कोइरालाले ‘बाल्मिकी कुटी’को उद्घाटन गर्नुभयो । कोइरालाले आफू अर्थमन्त्री भएका बखतमा प्रतिष्ठानलाई दिइएको पाँच करोडले २५ करोडको काम भएको भन्नुहुँदै यो नमुना ज्येष्ठ नागरिक ग्राम दक्षिण यशियाकै नमुना बन्न सक्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठानका सस्थापक अध्यक्ष मित्रसेन दाहालले सार्वजनिक निजी साझेदारीमा निर्मित ३० वटा भवनहरूको निर्माण कार्य सम्पन्न गर्न धेरै ठूलो संघर्ष गर्नुपरेको बताउनुहुँदै प्रतिष्ठानको रजत महोत्सवका समयमा सबै आरोह अबरोहलाई पुस्तकमार्फत सबैलाई जानकारी गराउने बताउनुभयो । अध्यक्ष दाहालले ज्येष्ठ नागरिकको सेवामा समर्पित ज्येष्ठ नागरिक ग्रामको मध्यमबाट उनीहरूमा भएको ज्ञान सीप क्षमता र अनुभवको सम्मान गर्ने कार्य सम्पन्न गर्नका लागि सामुहिक प्रयासको जरुरत पर्ने भएकाले महायज्ञमा उपस्थित भई पहिलो चरणको उद्घाटन कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न विशेष आग्रह गर्नुभएको छ । ज्येष्ठ नागरिक ग्राम उद्घाटनका लागि सुरु गरेको ‘मातापिता भक्ति भूमि पुजन गीता ज्ञानमहायज्ञ’ फागुन ३ गतेबाट सुरु भई फागुन ११ गतेसम्म सञ्चालन हुने छ । प्रतिष्ठानले काठमाडौंबाट जान आउनका लागि चाबहिल चुच्चे पार्टीस्थित पासाङ ल्हामु शेर्पाको शालिक नजिकैबाट गाडिको प्रवन्ध समेत मिलाएको छ । समारोहमा उपस्थित भक्तजनहरूका लागि भोजनको व्यवस्था अमेरिकाको क्यालीफोर्नियास्तिथ गुरु नानक सोसाइटीले महायज्ञ अवधिभर निशुल्क रूपमा भोजनको व्यवस्था गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालको नेतृत्वमा ४ वर्ष अघि सुरु भएको ज्येष्ठ नागरिक ग्राम निर्माण कार्यले अहिले पहिलो चरण पार गरीसकेको छ । प्रतिष्ठानले पहिलो चरणमा सम्पन्न परियोजनाको उदघाटन गर्दै महायज्ञमार्फत दोस्रो परियोजनाको पनि थालनी गर्ने र त्यसलाई पनि सफल पारिदिन सम्पूर्ण श्रद्धालु भक्तजन तथा दाताहरू समक्ष अनुरोध गरेको छ । पहिलो चरणको निर्माण कार्य पूरा गर्न करिब १८ कारोड लगानी गरिसकेको प्रतिष्ठानले लक्ष्य अनुसार ज्येष्ठ नागरिक ग्राम निर्माण कार्य सम्पन्न गर्न पाँच अर्ब रूपैयाँ लाग्ने लागत अनुमान वजेट समेत सार्वजनिक गरेको छ ।
सरकारी नीति नियम तथा योजना निर्माणमा समेत प्रेरणा दिन सफल यस प्रतिष्ठानले निर्माण गरेको आश्रममा सशुल्क र निशुल्क रूपमा ज्येष्ठ नागरिकहरूलाई राख्ने योजना बनाएको छ ।

असाहय, अशक्त, छोराछोरी नभएका ज्येष्ठ नागरिकहरूलाई प्रतिष्ठानले निशुल्क रूपमा राख्ने जनाएको छ । यस अन्तरगत राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याएका ज्येष्ठ नागरिक जो आर्थिक रूपमा कमजोर छन् भने उनीहरूलाई पनि राखिने छ । प्रतिष्ठानले निशुल्क रूपमा राख्नको लागि कुल आश्रममा बस्ने ज्येष्ठ नागरिक सख्याको २५ प्रतिशतका दरले निशुल्क राख्ने र बाँकी ७५ प्रतिशतलाई भने सशुल्क रूपमा राख्ने योजना बनाएको छ ।

Published On:  1140पटक हेरिएको

तपाईको प्रतिक्रिया