टीकादास श्रेष्ठ– काठमाडौं – सरकार र निर्वाचन आयोगले भर्खरै आगामी चुनावका लागि विद्युतीय भोटिङ मेसिन विदेशबाट खरिद गर्ने निर्णय गरी प्रमुख राजनीतिक दलका नेताहरूको समुपस्थितिमा प्रदर्शनी समेत गरिसकेको छ । तर यता विगत ७ वर्षदेखि नेपालमा आवश्यक पर्ने जुनसुकै चुनावका निम्ति उपयोगी भोटिङ मेसिन उत्पादन गर्ने युवा वैज्ञानिक रामलक्ष्मण रिमाल भने सरकारले गरेको उपेक्षाका कारण चिन्तित बनेका छन् ।
निर्वाचन आयोगले निर्वाचन मिति घोषणा नहुँदै बेलायती स्मार्टम्याटिक कम्पनीबाट करिब १६ अर्व २० करोड ६० हजार युनिट विद्युतीय मतदान मेसिन खरिद गर्ने तयारी गरेको छ । रामलक्ष्मण रिमाल र केबी भण्डारीद्वारा उत्पादित विद्युतीय भोटिङ मेसिनप्रति सरकारले वेवास्ता गर्दै सरकारले विदेशबाट ल्याउने निर्णय गरेलगत्तै माघ २६ गते यी दाजुभाइले राजधानीमा पत्रकार सम्मेलन गरी नेपाली उत्पादनलाई प्राथमिकता दिन सुझाएका छन् । युवा बैज्ञानिकहरूले सरकारको यो कदमलाई स्वदेशी उत्पादनप्रतिको उपेक्षा भनेका छन् । खरिदको तयारीमा रहेको मेसिनको प्रतिगोटा रु २ लाख सत्तरी हजार पर्नेछ भने स्वदेशमा यी बैज्ञानिकहरूले निर्माण गरिएका मेसिनको मूल्य रु १ लाख भन्दा पनि कम मूल्यमा प्राप्त गर्न सकिने बताइएको छ ।
‘मलाई त मेड इन नेपाल मै गर्व छ’ भन्ने नाराका साथ नेपाल सुहाउँदो प्रविधिको अन्वेषण गर्ने क्रममा मतदान प्रकृयालाई विश्वासनीय, पारदर्शी किफायती, मतदातामैत्री र छिटो छरितो ढंगबाट निर्वाचन सम्पन्न गर्ने मेसिन निर्माण गर्दा यी दाजुभाईले बैंकबाट ऋण लिएर काम सुरु गरेको बताएका थिए । निर्माण कार्य सम्पन्न भएपछि उनीहरूले पटक–पटक निर्वाचन आयोगमा प्रदर्शन गरी विश्वस्थ तुल्याउने कोशिस गर्दा निर्वाचन आयोगबाट धेरै तालीले हौसल्ला प्रदान गरेको क्षण यी आविष्कारक दाजुभाईको सम्झनामा अहिले जस्तो लाग्छ ।
यस अघिका सरकारले भोटिङ मेसिन सञ्चालन गर्ने आश्वासन पटक – पटक दिने गरेको भएपनि अहिलेको सरकारले कुनै आश्वासन समेत नदिई विदेशबाट भोटिङ मेसिन खरिद गर्ने निर्णय गर्नुले सरकार नेपाली प्रविधिप्रति उदासिन छ भन्ने कुरा प्रष्ट भएको भन्दै युवा बैज्ञानिकहरूले आफ्नो व्यवसाय प्रवर्धन मात्र गर्ने आफूहरूको लक्ष्य नभएको विषयमा जोड दिएको छ । रामलक्ष्मण भन्छन् ‘हामीले आविष्कार गरेको उत्पादनलाई केवल हाम्रो निजी व्यवसायको रुपमा मात्र नहेरियोस् । हामीले यो प्रविधि देशका लागि तयार गरेका हौं । यदि नेपाल सरकारले यो प्रविधि चाहन्छ भने हामी नि:शुल्क रुपमा हस्तान्तरण गर्न समेत तत्पर रहेको कुरा समेत आव्हान गर्न चाहन्छौं ।’ नेपालमा भोटिङ मेसिन उत्पादन गर्ने विशेष अधिकार (पेटेन्ट राइट) प्राप्त गरिसकेका बैज्ञानिक दाजुभाईले निर्माण गरेको भोटिङ मेसिन न्युनतम १ सय ९६ र अधिकतम ८ सय वटा दलका लागि समेत उपयुक्त हुने गरी निर्माण गरिएको जनाएको छ ।
युवा बैज्ञानिक रामलक्ष्मणले आविष्कार गरेका भोटिङ मेसिनबाट अहिलेसम्म असाध्यै जटिल भनिएका ५० वटा भन्दा बढी अन्य निर्वाचनहरू सम्पन्न गरिसकिएको छ । उनीहरूले निर्वाचन आयोगले गर्ने निर्वाचनलाई सबैभन्दा सरल निर्वाचन भनेका छन् । पत्रकार सम्मेलनमा उनीहरूले नेपाली भोटिङ मेसिनबाट नेपालमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदानमैत्री र छिटोछरितो बनाउन सकिने दाबी गरेका छन् । स्वदेशी बैज्ञानिकले यस्तो दाबी गर्दा समेत सरकार र निर्वाचन आयोगले भने उपेक्षा गर्दै अगाडि बढ्ने सङ्केत देखाएको छ ।
वि.सं २०५७ सालबाट प्रविधिको क्षेत्रमा प्रवेश गरेका यी युवा बैज्ञानिकहरूले कम्युनिटी साइरन प्रविधि, सुरक्षाका उपकरणहरू, जिपिएस, विद्युत लोड सेडिङ न्यूनिकरण को लागि सप्लाइ साइड म्यानेजमेन्ट सिस्टम, भिभिआइपीको सवारीका लागि जमर सिस्टम, अटोमेटिक बस लोकेशन अनाउन्समेन्ट सिस्टम, ट्ेरकिङका लागि स्मार्ट कार्ड, पानी तान्ने अटो मेसिन लगायत ८० वटा भन्दा बढी बैज्ञानिक आविष्कार गरी एक दर्जनभन्दा बढीको पेटेन्ट अधिकार समेत प्राप्त गरिसकेका छन् ।