खिचातानीले भेला स्थगित, ओखलढुंगाको नर्मदेश्वर महोत्सव गर्ने योजना अलपत्र

ओखलाढुङ्गा–विवेश श्रेष्ठ, ओखलढुंगा, नर्मदेश्वर, ओखलढुंगाको नर्मदेश्वर महोत्सव २०७४ आयोजना गर्ने उदेश्य सहित माघ १८ गते भएको भेला विना निश्कर्ष स्थगित भएको छ । नर्मदेश्वर गाउँ विकास समितिमा महोत्सव गरी नर्मदेश्वर महादेवलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले परिचित गराउने उदेश्यका साथ सर्वपक्षीय भेलाको आयोजना गरिएको थियो ।
करिब सय जनाको उपस्थिति रहेको प्रारम्भिक भेलामा पहिलो चरणमा सबैलाई आ–आफ्नो धारणा राख्न समय उपलब्ध गराईएको थियो । तर, आयोजना गर्न लागिएको नर्मदेश्वर महोत्सव मुल समारोह समितिको अध्यक्ष चयनको विषयमा सुरुमा नै विवाद हुदा महोत्सव हुने नहुने अन्यौलता सगै सर्व पक्षीय भेला स्थगित भएको आयोजकले जानकारी गराएको थियो ।
भेलामा सहभागी छिमेकी गाविस सिहदेवीका देव कुमार खड्काले महादेव स्थानको स्थापना ढुंगेल परिवारले सुरुवात गरेकोले महोत्सवको अध्यक्ष पनि ढुंगेल परिवारकै शंकर प्रसाद ढुंगेल हुनुपर्नेमा जोड दिएका थिए । त्यसपछि सिहदेवीकै निरण बोगटीले महोत्सवको विषय सुरुवात र सम्पन्न गर्ने योजना खड्ग योगी अनिलले सुरुवात गरेकोले महोत्सवको अध्यक्ष अनिल नै हुनुपर्ने प्रस्ताव राखेका थिए ।
दुईजनाको प्रस्ताव लगत्तै एमालेका ईलाका नं ७ का सेक्रेटेरी राम कुमार आछामीले शंकर ढुंगेल नै अध्यक्ष नभए महोत्सवको अध्यक्ष हुने अरुलाई स्विकार्न नसकिने बताए । फेरि माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एकिन्द्रराज कटुवाल सुदिपले महोत्सवको विषय सुरुवात गर्ने व्यक्ति नै अध्यक्ष हुनुपर्नेमा जोड गरेपछि अध्यक्ष चयनको विषय विवादमा परेको थियो ।
माओवादी केन्द्रका सुदिपले आफ्नो कुरा राख्दै गर्दा एमालेका राम कुमार आछामीले अबरोध गरेपछि भेला केही समय तनाब ग्रस्त समेत बनेको थियो ।
महोत्सव मुल समारोह समितिको अध्यक्ष चयनको विषयलाई लिएर एमाले पक्षधरहरुले महोत्सवको समिति माओवादी केन्द्रले एकपक्षीय रुपमा कब्जा गर्न लागेकाले अध्यक्ष चयन हुन नसकेको आरोप लगाएको छ । उता माओवादी केन्द्रले भने अध्यक्ष चयनको विषय विवाद हुनु दुखद भन्दै महोत्सव हुन नदिने चलखेल सगै मन्दिरको गुठी भित्र भएको अनियमितताको रहस्य बाहिर आउने त्रासको परिणाम भएको बताएको छ ।

भेला आयोजक समितिका अध्यक्ष लाल बहादुर श्रेष्ठले भने भेलामा भएको विवादको विषयले आफुहरुलाई लज्जित बनाएको भन्दै भेला आयोजक समितिको केही कमजोरीका कारण उक्त समस्या भएको जानकारी दिनुभयो । त्यसैले यो भेला स्थगित भएपनि चाडै अर्को भेला गरी नर्मदेश्वर धार्मिक सांस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना विषय चाडै पुन: अगाडि बढाईने गाविस सचिव लालबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया